मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको विषय भएको जनाएका छन् ।
मकवानपुर १ बाट एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि उम्मेद्वारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
अध्यक्ष थापाले जित सुनिश्चित गर्न पनि सूर्य चिह्नबाट चुनाव लड्न लागेको खुलासा गरेका छन् । एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान संकट समाधान गर्न भएको उनको दाबी छ ।
एमालेसँगको सहकार्य राष्ट्रिय परिवेशको आवश्यकताका रुपमा रहेको पनि उनले जनाए । उनले एमालेका असन्तुष्ट पक्षलाई चित्त बुझाउन सक्छु भन्ने आफूलाई लागेको दाबी गरेका छन् ।
असन्तुष्ट पक्षलाई चित्त बुझाउन हरसम्भव प्रयास गर्ने पनि उनले जनाए । अध्यक्ष थापालाई समर्थन गरेकोमा एमाले मकवानपुरका केही नेता-कार्यकतार्ले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
