काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै छ । तर पार्टीको टिकट पाउनबाट बन्चित भएसँगै सत्तारुढ र विपक्षी दलका केही चर्चित नेताहरु भने खिन्न छन् । देशमा विकास र परिवर्तन गर्ने क्षमता राख्नेहरुलाई पार्टीले उम्मेद्वार हुनबाटै बन्चित गरिदिएपछि राजनीतिक बृत्तमा एक किसिमको तरंग उत्पन्न भएको छ । विशेष गरी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्नबाट बन्चित हुनेहरुमा एमाले र कांग्रेसका नेताहरु बढी देखिएका छन् ।
कांग्रेसबाट टिकट नपाउने धेरै चर्चित अनुहारहरु छन् । कांग्रेसले आगामी मंसिर ४ गतेको निर्वाचनको लागि उम्मेदवारको मापदण्ड तयार गरेपछि केही नेताहरु उम्मेद्वार हुनबाट बन्चित भएको बताइन्छ । जसमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलगायतलाई प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार नबनाउने उल्लेख गरिएको छ ।
स्वर्णिम वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए । तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ । काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् ।
गगन थापाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन जोडबल गरेका थिए । उनले अन्यत्र नमिले आफ्नै क्षेत्र (काठमाडौं ४) छोडिदिन तयार रहेको बताएका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरिदिए । यस्तै चर्चित अनुहार नेता मिनेन्द्र रिजाललाई पनि यसपालि कांग्रेसले प्रतिनिधिसभा सदस्यको टिकट दिएन । रिजाल कांग्रेसमा परिवर्तनका पक्षधर र बौद्धिक नेताका रुपमा चिनिन्छन् । यसअघि मोरङ निर्वाचन क्षेत्र नं.–२ बाट विजयी नेता रिजाललाई यसपल्ट पार्टीले टिकट नदिएको हो । यसअघि रिजाल उठेको क्षेत्रमा यो पटक नेत्री सुजाता कोइरालालाई टिकट दिने कांग्रेसले निर्णय गरेको छ ।
यस्तै चर्चित नेता केन्द्रीय सदस्य मधु आचार्य पनि उम्मेद्वार हुनबाट बन्चित गरिएका छन् । सत्ता गठबन्धनमा भागबण्डाअनुसार काभ्रेको प्रतिनिधिसभा क्षेत्र २ कांग्रेसलाई परेकोमा शिवप्रसाद हुमागाई उम्मेदवार बन्ने भएका छन् । हुमागाइलाई टिकट दिइएपछि आचार्य र उनी समर्थक नेता तथा कार्यकर्ता खिन्न भएका छन् ।
यस्तै सत्ता गठबन्धनले पर्सा क्षेत्र नम्बर १ को सन्दर्भमा गरेको निर्णयबाट असन्तुष्ट नेपाली कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनको तर्फबाट पर्सा–१ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण चुनाव लड्ने भएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
शेखर कोइराला पक्षका पूर्वजिल्ला सभापति समेत रहेका द्विवेदीको टिकट खोसेर लोसपालाई समर्थन गरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट छन् । यस्तै, कांग्रेसबाट टिकट नपाएपछि निवर्तमान सांसद अमरेश कुमार सिंह स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जहिल्यै कांग्रेसको झण्डा बोक्दै आएका सिंह स्वतन्त्र उम्मेदवारी दर्ता गराउन पुगेका बेला राष्ट्रिय झण्डा बोकेका थिए ।
समर्थकसहित नेता सिंहले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापा लड्ने चर्चा पनि चलेको थियो । तर उनी काठमाडौंबाटै उम्मेदवारी दिए पनि सिंहलाई कांग्रेसको टिकट दिएन । यस्तै कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्य दाबी गरेका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
२०७४ सालको स्थानीय चुनावमा उनी कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । तर पछि उनले फिर्ता लिनुपर्यो । भरतपुरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णय केन्द्रबाटै भएपछि रेणु दाहालका लागि उनले उम्मेदवारी फिर्ता लिनुपरेको थियो ।
अघिल्लो निर्वाचनमा ३ नम्बर अन्तरगतको प्रदेश सभा ‘क’बाट पराजित भएका थिए । पार्टीभित्र उनी शेखर कोइराला निकट मानिन्छन् । यस्तै कांग्रेस केन्द्रीय सदस्य राजिवविक्रम शाही जाँजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि दाबेदार थिए । तर प्रदेशसभा सदस्यमा धकेलिएका छन् ।
यता,नेकपा एमालेभित्र पनि उम्मेद्वारीको विषयलाई लिएर रोइलो भएको छ । पार्टीका परिवर्तनकामी र विकासप्रेमी नेतालाई निषेध गरिएपछि एमाले पार्टीभित्र तथा देशकै राजनीतिमा तरंग छाएको छ । वास्तवमा नेकपा एमालेमा नेतृत्वसँग फरक मत राख्ने नेताहरुको टिकट खोसिएको छ । अनौपचारिक सुत्रबाट प्राप्त भएको प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार हुने नेताको सूचीमा एक दर्जनभन्दा बढीको टिकट खोसिएको हो । विगतमा चुनाव जित्दै आएका तर पार्टी नेतृत्वसँग फरक मत राख्ने देहायका नेताहरुको टिकट खोसिएको छ ।
एमालेबाट उम्मेद्वारी हु्नबाट बन्चित गरिनेहरुमा अछाम–१ बाट विगतमा निर्वाचित भीम रावल र रूपन्देही–३ बाट विगतमा निर्वाचित घनश्याम भूसाल पनि छन् । अन्य नेताहरुमा सिन्धुली–१ बाट विगतमा निर्वाचित गणेश पहाडी, कञ्चनपुर–३ बाट विगतमा निर्वाचित दीपकप्रकाश भट्ट, झापा–२ बाट विगतमा निर्वाचित पवित्रा निरौला खरेल, दैलेख–२ बाट विगतमा निर्वाचित राजबहादुर बुढा,दोलखाबाट विगतमा निर्वाचित पार्वत गुरुङ छन् ।
यस्तै मकवानपुर–१ बाट विगतमा निर्वाचित कृष्णप्रसाद दाहाल,पाल्पा–१ बाट विगतमा निर्वाचित दलबहादुर राना, बाँके–३ बाट विगतमा निर्वाचित नन्दलाल रोकाया, सुर्खेत–२ बाट विगतमा निर्वाचित नवराज रावत, म्याग्दीबाट विगतमा निर्वाचित भूपेन्द्र थापा, बझाङबाट विगतमा निर्वाचित भैरवबहादुर सिंह र बाजुराबाट विगतमा निर्वाचित लालबहादुर थापा छन् ।
उता अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ । बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो । नारावाजी गर्नेहरुले कालोझण्डा पनि देखाएका छन् । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए । तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएका छन् । रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।
यस्तै एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । उनले आइतवार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीले टिकट नदिएपछि सत्गौवाले गएको शुक्रवार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।
यस्तै टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए ।
डडेल्धुरामा प्रतिनिधिसभा सदस्य पदमा एमालेबाट बागी उम्मेदवार विक्रम शाही देखिएका छन् । उता टिकट नपाएपछि रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौं–७ बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आफूले पार्टी नछाडेको बताएका छन् । उनले भने, ‘एमाले किन छाड्ने म ? मेरो पार्टी हो एमाले, मैले बनाएको पार्टी हो एमाले म किन छाड्नु ?’
पार्टीले टिकट दिएका उम्मेदवारले जनताको दबाबमा उम्मेदवारी फिर्ता लिने समेत दाबी गरेका छन् । एमालेले काठमाडौं–७ मा श्याम घिमिरेलाई टिकट दिएको छ । यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेपछि असन्तुष्ट पक्षले तालाबनदी गरेका छन् ।अध्यक्ष थापालाई समर्थन गरेकोमा एमाले मकवानपुरका केही नेता–कार्यकतार्ले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । मकवानपुर–१ मा पहिचान बनाएका उमाले नेता टिकट पाउनबाट बन्चित भएका छन् ।
यता काठमाडौंमा गठबन्धनको सीट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले पाएको एउटा प्रदेशसभाका दुई आकांक्षीको झगडा नमिल्दै कांग्रेसले मनोनयन पत्र दर्ता गराएपछि किचलो शुरु भएको छ । काठमाडौंको क्षेत्र नं ५ को प्रदेशसभा (ख) मा एकीकृत समाजवादीको उम्मेदवारी टुंगो लागेको थियो । पार्टीका तर्फबाट बालकृष्ण श्रेष्ठ र दीपक केसीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने छलफलले झगडाको रुप लिएपछि केन्द्रबाट हस्तक्षेप गरी झगडा त मिल्यो । तर, उम्मेदवारी भने कांग्रेसले दियो ।
केन्द्रले हस्तक्षेप गरी एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठको उम्मेदवारी टुंगो लगाएको थियो । तर, श्रेष्ठ निर्वाचन कार्यालय पुग्न नपाउँदै नेपाली कांग्रेसका श्याम खड्काले सोही मनोनयन दर्ता गराएका छन् । अब एकीकृत समाजवादीले आफ्नो भागमा नपरे पनि काठमाडौंको क्षेत्र नं ६ को (क)मा अर्जुनलाल प्रधान उम्मेदवार चयन भएका छन् । यस्तै एमाले र माओवादीका केही चर्चित नेताहरुले यसपालि प्रतिनिधिसभाको चुनावमा उम्मेद्वार नबन्ने जनाएका छन् । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र माओवादी केन्द्रका अग्नी सापकोटाले आगामी चुनावमा नउठ्ने घोषणा गरेका हुन् ।
वास्तवमा कुनै पनि पार्टीको विधानअनुसार मापदण्ड नपुग्दा उम्मेद्वार हुन नपाउनु सामान्य कुरा हो । तर देश विकासप्रेमी केही चर्चित नेताहरुलाई ठूला पार्टीहरुले टिकट पाउनबाट बन्चित गरेका छन् । हाम्रा मान्छेलाई नभइ राम्रा मान्छेलाई अवसर दिएको भए पार्टीको पनि बदनाम हुँदैनथ्यो । ‘हाम्रा मान्छे’ मात्रै छान्न खोज्नेहरुले सही नेताको छनौटले देशको विकासमा टेवा पुग्छ भन्नेमा हेक्का राख्नु पर्ने देखिन्छ ।
केशव भट्टराई
