काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको नयाँ नेतृत्व छनौटका लागि तीन सदस्य कार्यदल गठन गरेको छ ।
विराटनगरमा आज बसेको केन्द्रको बैठकले केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा अभ्यक्षसहित पदाधिकारीको नाम प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ । उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ ।
अध्यक्षको दौडमा पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए ।
तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ । माओवादीले यहि पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ ।
