मंसिर ४ निर्वाचन
महिलालाई उम्मेद्‌वारी दिन किन कन्जुस्याइँ ?

महिलालाई उम्मेद्‌वारी दिन किन कन्जुस्याइँ ?


  • 4.8K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    महिलालाई उम्मेद्‌वारी दिन किन कन्जुस्याइँ ?

    काठमाडौं । मुलुकभर अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक छाएको छ । देश र आफ्नो भविष्यको समेत सपना कोर्दै महिला-पुरुष उम्मेद्‌वारहरु उत्साहजनक रुपमा चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको सिलसिलामा ६ हजारको हाराहारीमा उम्मेम्मेद्‌वाहरु चुनावी मैदानमा भिड्दै छन् । 

    images

    प्रतिनिधिसभाको १६५ वटै निर्वाचन क्षेत्रका लागि आइतबार शान्तिपूर्ण र उत्साहजनक उम्मेद्‌वारी दर्ता भएसँगै चुनाव जित्ने रणनीतिको खाका बनाउन पनि दलहरु लागिपरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २ हजार ४९४ जनाले उम्मेद्‌वारी दिएका छन् । यस्तै प्रदेशसभा निर्वाचनतर्फ ३३० सिटका लागि ३ हजार ४ सय २३ जनाले उम्मेद्‌वारी दिएका छन् ।

    यता उम्मेद्‌वारी दर्ता गर्ने काम सकेसँगै निर्वाचन आयोगमा विभिन्न प्रक्रियागत अन्य कामहरु पनि हुँदै छन् । निर्वाचन प्रक्रिया अगाडि बढ्ने क्रममा आइतबार राति अबेरसम्म विभिन्न दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्‌वारी दर्ता गराए । यस्तै दलबाट टिकट नपाएकाले बागी तथा स्वतन्त्र उम्मेद्‌वारी दिएका छन् । 

    दलमा बाहेक समाजसेवामा आबद्ध तथा बौद्धिक जगतले पनि स्वतन्त्र उम्मेद्‌वारी दिएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ५ हजार ९ सय १७ जनाको उम्मेद्‌वारी परेको छ । 

    प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्‌वारी दिनेको संख्या ९२९ छ । यस्तै राप्रपाबाट १४१, एमालेबाट १३९, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३१, कांग्रेसबाट ९१, जसपा ८०, लोसपा ५२, माओवादी ४५ र एकीकृत समाजवादीबाट २४ जनाको उम्मेद्‌वारी परेको निर्वाचन आयोगले जनाएको छ । 
       
    यसैबीच, प्रदेशसभामा प्रत्यक्षतर्फ स्वतन्त्रमा १,२५२, एमाले ७८, राप्रपा २६७, कांग्रेस १८४, जसपा १४३, माओवादी ११२, एकीकृत समाजवादी ८२ र लोसपाका ७६ जनाको उम्मेद्‌वारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि २ हजार २ सय ६१ जना पुरुषले उम्मेद्‌वारी दिएका छन् । जबकि महिलाको संख्या २३३ जना मात्रै छ ।

    यस्तै, प्रदेशसभा सदस्यतर्फ ३ हजार १२७ पुरुष चुनावी मैदानमा छन् । यस्तै २९५ जना महिलाले उम्मेद्‌वारी दर्ता गरेका छन् । तेस्रो लिंगीतर्फ एकजनाले मात्रै प्रदेशसभा सदस्यमा उम्मेद्‌वारी दिएको निर्वाचन आयोगसँग तथ्यांक छ । यो समाचार तयार पारुन्जेलसम्म प्रतिनिधिसभाका लागि एकजना तेस्रो लिंगीको पनि उम्मेद्‌वारी परेको छैन ।  

    यस्तै यसपालिको प्रत्यक्ष निर्वाचनमा दलहरुले महिलालाई एकदमै कम अवसर दिएका छन् । चुनावी मैदानमा ९ प्रतिशत मात्रै महिला उम्मेद्‌वार देखिएका छन् । संविधानले ३३ प्रतिशतको ग्यारेन्टी गरे पनि ९ प्रतिशतले मात्रै अवसर पाएका हुन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २२९ र प्रत्यक्षतर्फ नै प्रदेशसभामा २८६ जना महिलाले मात्रै चुनावी मैदानमा जाने अवसर पाएका छन् । पार्टीगत रुपमा एमालेबाट ११, माओवादी केन्द्रबाट ७, कांग्रेसबाट ५, एकीकृत समाजवादी पार्टीबाट १ र राष्ट्रिय जनमोर्चाबाट एकजनाको मात्रै उम्मेद्‌वारी परेको छ ।

    वास्तवमा महिलाको ३३ प्रतिशत अधिकारको ग्यारेन्टी संविधानमै गरिएको छ । तर सिद्धान्त तथा कानुन एकातिर र व्यवहार अर्कातिर देखिएको छ । आयोगले आगामी निर्वाचनमा भने प्रत्यक्षमै महिलाको संख्या बढाउने गरी कानुनी प्रक्रियालाई अघि बढाएको छ ।

    दलहरुले जति सिटमा उम्मेद्‌वारी दिन्छन्, त्यसको कम्तिमा एकतिहाइ सिटमा महिला हुनैपर्ने कानुनी व्यवस्था ल्याउने सोचमा निर्वाचन आयोग छ । आयोगले साच्चै कानुन बनाएर ३३ प्रतिशत महिला हुनैपर्ने व्यवस्था गरे महिला अधिकारको एउटा कदमले सफलता पाउने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # मंसिर ४ निर्वाचन
  • # महिला उम्मेदवार

  • तेस्रो आँखा