काठमाडौं । स्वतन्त्र उम्मेद्वारी दिनु भनेको वर्तमान राजनीतिक दल तथा तिनका नेताप्रतिको वितृष्णा हो । जनताले जहिल्यै पनि एउटै अनुहार भएको अनि देशको विकास गर्न नचाहने नेता नचाहेको बताउन थालेका छन् । यस अवस्थामा चुनाव लडे जितिन्छ कि भन्ने मानसिकता स्वतन्त्र उम्मेद्वारी दिनेहरुको हुनसक्छ ।
स्थानीय तहको निर्वाचनदेखि स्वतन्त्र उम्मेद्वारीमा आकर्षण बढेको छ । अझ स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिकालगायतमा स्वतन्त्रले जित हासिल गरेपछि आफ्नो भविष्य कोरिनेमा केही व्यक्ति तथा दलका नेताहरु आशावादी छन् ।
वास्तवमा सामान्य नेताले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारी दिएमा अर्को व्यक्ति स्वतन्त्र उम्मेद्वार हुनु स्वभाविकै हो । समाजमा पहिचान बनाएको व्यक्तिले पार्टीको सामान्य नेता उम्मेद्वार भएमा स्वतः जित्नसक्ने अवस्थामा पनि पुग्नसक्छ । तर विभिन्न प्रमुख दलका शीर्ष नेता उठेको क्षेत्रमै दर्जन बढीले स्वतन्त्र उम्मेद्वारी दिएको देखिएको छ । ठूला दलमा रहेर प्रधानमन्त्री भइसकेका अनि वर्तमान पार्टी अध्यक्ष उठेका ठाउँमा उम्मेद्वारी दिन खोज्नु चानचुने कुरो भने होइन ।
सत्ता गठबन्धन तथा प्रतिपक्षी दलका अध्यक्षले रोजेको निर्वाचन क्षेत्रमै दर्जन बढी स्वतन्त्र उम्मेद्वार हुनु कुतूहलको विषय बनेको छ । जुन निर्वाचन क्षेत्रमा पार्टीका शीर्ष नेता उठेका छन्, ती क्षेत्रमा पहिचान बनाएका व्यक्तिले स्वतन्त्र उम्मेद्वारी दिएको देखिएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न पार्टीका अध्यक्ष तथा सभापतिले उम्मेद्वारी दर्ता गराएका क्षेत्रमा स्वतन्त्र उम्मेद्वारको संख्या उल्लेख्य देखिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट पनि पाँचजनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । देउवाको क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेहरुमा सागर ढकाल, दानबहादुर पाल, कर्णसिंह रावल, विक्रमबहादुर शाही र लालबहादुर कठायत छन् । यस्तै, काठमाडौंको क्षेत्र नम्बर १ मा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई चूनौती दिन पुकार बम लगायतका स्वतन्त्र उम्मेद्वारहरु चुनौतीका रुपमा उभिएका छन् ।
यस्तै, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा १४ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । ओलीले निर्वाचन लड्ने क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिनेमा शान्ता अधिकारी, केदारनाथ चापागाईं, दीपककुमार पाठक, रेवतीरमण खनाल, तीर्थेश्वर चौधरी, विष्णुप्रसाद सिग्देल, तुलसीराम काफ्ल, सीताराम पोख्रेल, कल्पना लावती, भेषराज भट्टराई, रामचन्द्र बानियाँ, रोहितप्रसाद पौड्याल, सुलोचना राजवंशी र इन्द्रमणि दाहाल छन् ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र गोरखा २ बाट तीनजनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । विनोदकुमार गुरुङ, डा. माधवी पराजुली (भट्ट) र गणेश देवकोटाले प्रचण्ड उठेको क्षेत्र गोरखा २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
यस्तै, धेरै स्वतन्त्र उम्मेद्वारी लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी ३ मा दिएका छन् । यस क्षेत्रमा ११ जनाले स्वतन्त्र उम्मेद्वारी दिएको खुलेको छ । महोत्तरी ३ बाट स्वतन्त्र उम्मेद्वार हुनेमा मंगलदेव ठाकुर, युसुफ साफी, शरतचन्द्र मिश्र, प्रदीपकुमार यादव, रामआधार कापर, रामबाबु सिंह, विनयकुमार यादव, इन्द्रजितकुमार यादव, शंकरप्रसाद कापर, सरविन्द्र यादव र कुलभूषणशेखर शर्मा छन् ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा ९ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । राहुलकुमार मिश्र, कोशिला देवी, अवधेशकुमार ठाकुर, चन्दनकुमार जयसवाल, मोहम्मद जियाउल हक, रामअधार महतो कोइरी, रेवन्त झा, रामबलिकुमार यादव र अनिलकुमार लाल दासले उम्मेद्वारी दिएका हुन् ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ बाट चारजनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । चित्तनारायण यादव, वीरेन्द्रकुमार मिश्र, महेन्द्रप्रसाद देव र विनोदकुमार यादवले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा ८ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । खेमराज भट्टराई, सुदर्शन प्रधान, भाष्करचन्द्र न्यौपाने, सुन्दर डल्लाकोटी, देविका कुँवर, देवराज पौडेल, जगदीश अर्याल र अंगुर पन्तले चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका हुन् ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ मा ३ जनाले मात्रै स्वतन्त्र उम्मेद्वारी दिएका छन् । प्रेमप्रसाद खनाल, डम्बरबहादुर गिरी र मनोरथ राजवंशीले उम्मेद्वारी दिएका हुन् ।
निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या ९२९ छ । प्रदेशसभामा प्रत्यक्षतर्फ स्वतन्त्रमा एक हजार २५२ जनाले उम्मेद्वारी दिएका छन् । आगामी प्रतिनिधिसभाको निर्वाचनमा गत निर्वाचनहरुभन्दा बढी स्वतन्त्र उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न दलका शीर्ष नेताहरु उठेको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पनि धेरैले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
स्वतन्त्र उम्मेद्वार भन्छन्- खराब राजनीतिका कारण देशलाई क्यान्सर लागेको छ
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेद्वारी दिएको काठमाडौं क्षेत्र नम्बर ५ बाट १४ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । लामो समयदेखि क्याम्पस तहको प्राध्यापन पेसामा संलग्न प्रा.डा. गोपीलाल न्यौपाने र बौद्धिक, विकासप्रेमी युवा उद्यमी तथा समाजसेवी विजय कँडेललगायतले यस क्षेत्रबाट उम्मेद्वारी दिएर शीर्ष नेतालाई चुनौती दिएका छन् ।
अहिलेको राजनीतिक नेतृत्वले जनताको हित नगर्ने र विकासको काम पनि अगाडि बढाउन नसक्ने आमसर्वसाधारणको बुझाइ रहेको स्वतन्त्र उम्मेद्वारी दिनेहरुको ठम्याइ छ । वर्षौंदेखि सीमित दलका नेतालाई जिताउँदा देशै बिगारेको आम जनबोली रहेको उनीहरु दाबी गर्छन् । जनतामा लामो समयसम्म सत्तामा पु्गेका दलहरुले केही गर्न नसकेको भावना विकास भएकाले आफूले केही गर्न सक्छु कि भनेर उम्मेद्वारी दिएको उनीहरुको भनाइ छ ।
स्वतन्त्र उम्मेद्वार प्रा.डा. गोपीलाल न्यौपाने भन्छन्,‘दलका नेताका कारण देश बिग्रियो, देश निर्माण गर्न पनि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ ।’ प्रजातान्त्रिक मुलुकमा पार्टी र व्यक्ति दुवैले स्थान नपाउँदा देश बिग्रिएको न्यौपानेको दाबी छ । व्यक्तिलाई पनि देशमा स्थान दिने हो भने विकास तथा परिवर्तन हुने उनी दाबी गर्छन् ।
प्रमुख राजनीतिक दलहरुले आफ्ना केही कार्यकर्ताको मात्र मन जित्न सकेको न्यौपाने बताउँछन् । न्यौपाने भन्छन्, ‘देशमा राजनीतिक दलका नेताहरुले कार्यकर्ताको समस्या मात्रै बुझे, जनताको समस्या बुझेनन् ।’ राजनीतिक दलका स्वार्थी नेतालाई किनारा लगाउँदै समस्यामा परेका जनताको मन जित्न स्वतन्त्र उम्मेद्वारी दिएको उनको दाबी छ ।
यस्तै, बौद्धिक तथा विकासप्रेमी युवा समाजसेवी विजय कँडेलले काठमाडौंको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्वारी दिएका छन् । कँडेल भन्छन्, ‘स्वतन्त्र उम्मेद्वारी दिनु् बाध्यता हो, देश बनाउनका लागि युवा जागेका हौं ।’ देशलाई विभिन्न राजनीतिक दलका नेताका कारण क्यान्सर भएको कँडेल बताउँछन् । राजनीतिक दलमा टिकट नपाएर स्वतन्त्र उम्मेद्वारी दिएका, चुनावको बहानामा देश लुट्न आउने, भ्रम फैलाएर जितेर लुट्ने योजना बनाउनेलगायत सोच भएका स्वतन्त्र उम्मेद्वारलाई उनी पटक्कै स्विकार्दैनन् । आफूहरुजस्ता उम्मेद्वार जनताको हक-अधिकारको ग्यारेन्टी गर्न चुनावी मैदानमा आएको कँडेलको दाबी छ ।
वषौंदेखि विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरु सत्तामा पुगेका छन् । तर समस्याहरु उस्तै रहेको नागरिकको गुनासो छ । देशमा प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि केही परिवर्तन तथा विकासका कामहरु भएको सत्य हो । तर, जुन रफ्तारमा नि:स्वार्थ भएर देशको विकासमा नेताहरु लाग्नुपर्थ्यो, त्यो महसुस नभएको स्वतन्त्र उम्मेद्वारी दिनेहरुको पनि गुनासो छ । दलका नेताहरुले पुरानै प्रवृत्ति दोहोर्याएर परिवर्तन तथा विकासमा ध्यान नदिए, स्वतन्त्र उम्मेद्वारको वर्चस्व संसद्मा नहोला भन्न सकिन्न ।
केशव भट्टराई
