काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उनको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।
जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।
मतदाता नामावलीमा उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ भने नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’
देउवा विरुद्ध परेको उजुरीमाथि भोलि निर्णय हुने उनले बताए । उनले भने, ‘उजुरीमाथि छानबिन गर्न भोलि (मंगलबार) सम्म समय छ । भोलिसम्म हामी निर्णय गर्छौ ।’
