काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै मंगलबार राती प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, मधेस र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै बाढी आउन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
