काठमाडौं । देशभरका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेद्वारलाई पनि चुनावी रौनकताले छोपेको छ । आफूहरु रहरले नभई बाध्यताले चुनावी मैदानमा उत्रिएको उनीहरुको प्रतिक्रिया छ । देशको राजनीतिमा लागेको क्यान्सर हटाउन आफूहरु चुनावी मैदानमा उत्रिएको स्वतन्त्र उम्मेद्वारहरुले दाबी गरेका छन् । देशमा प्रजातन्त्रको पुन:स्थापना र लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि दलका नेताहरु राष्ट्रियभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त भएको उनीहरुको गुनासो छ । व्यक्तिगत स्वार्थमा लाग्दा देशमा लुटतन्त्र मच्चिएको र देशलाई नै क्यान्सर लागेको स्वतन्त्र उम्मेद्वाहरुको प्रतिक्रिया छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेद्वारी दिएको क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ हो । एमालेबाट उनी उक्त क्षेत्रमा लोकप्रिय उम्मेद्वार मानिन्छन् । तर पोखरेललाई १४ जना स्वतन्त्र उम्मेद्वारले चुनौती दिँदै छन् । यस्तै, काठमाडौंको क्षेत्र नम्बर १ मा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई चुनौती दिन पुकार बमलगायत स्वतन्त्र उम्मेद्वारहरु चुनौतीका रुपमा उभिएका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र कांग्रेस नेता प्रकाशमान सिंह मात्रै होइन, विभिन्न पार्टीका शीर्ष तथा लोकप्रिय नेताले उम्मेद्वारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दिनेको लर्को छ । लामो समयदेखि क्याम्पस तहको प्राध्यापन पेसामा संलग्न प्रा.डा. गोपीलाल न्यौपाने, सशक्त युवा समाजसेवी विजय कँडेल, १७० पटकको हाराहारीमा रक्तदान गरिसकेका लोकप्रिय समाजसेवी प्रेमसागर कर्माचार्यलगायतले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
काठमाडौंको क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेद्वारी दिएका कर्माचार्य चाहनाले भन्दा बाध्यताले घच्घच्याएर चुनावी मैदानमा आएको प्रतिक्रिया दिन्छन् । समाजसेवाका क्रममा फुटपाथमा पुग्दा वर्षौंदेखि सत्तामा राज गरिरहेकाहरुबाट सर्वसाधारणले वाक्कदिक्क भएको गुनासो गरेको कर्माचार्य बताउँछन् । आफूजस्ता व्यक्तिहरु चुनावी मैदानमा आए देशले काँचुली फेर्ने आमनागरिकले सल्लाह दिएकाले धेरैले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको पनि कर्मचार्यले तेस्रो आँखासँगको कुराकानीमा प्रस्ट पारे । देशमा राजनीतिक दलका नेताहरुले लुटतन्त्र मच्चाएकाले त्यसलाई हटाउन नै स्वतन्त्र उम्मेद्वारी दिएको कर्मचार्यको तर्क छ ।
अहिलेको राजनीतिक नेतृत्वले जनताको हित नगर्ने र विकासको काम पनि अगाडि बढाउन नसक्ने आमसर्वसाधारणको बुझाइ रहेको स्वतन्त्र उम्मेद्वारी दिनेहरुको निष्कर्ष छ । वर्षौंदेखि सीमित दलका नेतालाई जिताउँदा देशै बिगारेको आम जनबोली रहेको उनीहरु दाबी गर्छन् । जनतामा लामो समयसम्म सत्तामा पु्गेका दलहरुले केही गर्न नसकेको भावना विकास भएकाले आफूले केही गर्न सक्छु कि भनेर उम्मेद्वारी दिएको उनीहरु बताउँछन् ।
काठमाडौंको क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेद्वार प्रा.डा. गोपीलाल न्यौपाने भन्छन्,‘दलका नेताका कारण देश बिग्रियो, देश निर्माण गर्नका लागि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ ।’ प्रजातान्त्रिक मुलुकमा पार्टी र व्यक्ति दुवैले स्थान नपाउँदा देश बिग्रिएको न्यौपानेको दाबी छ । व्यक्तिलाई पनि देशमा स्थान दिने हो भने विकास तथा परिर्वतन हुने उनी दाबी गर्छन् । प्रमुख राजनीतिक दलहरुले आफ्ना केही कार्यकर्ताको मात्र मन जित्न सकेको न्यौपाने बताउँछन् । न्यौपाने भन्छन्, ‘देशमा राजनीतिक दलका नेताहरुले कार्यकर्ताको समस्या मात्रै बुझे, जनताको समस्या बुझेनन् ।’ राजनीतिक दलका स्वार्थी नेतालाई किनारा लगाउँदै समस्यामा परेका जनताको मन जित्न स्वतन्त्र उम्मेद्वारी दिएको उनको दाबी छ ।
यस्तै, बौद्धिक तथा विकासप्रेमी युवा विजय कँडेलले पनि काठमाडौंको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्वारी दिएका छन् । कँडेल भन्छन्, ‘स्वतन्त्र उम्मेद्वारी दिनु् बाध्यता हो, देश बनाउनका लागि युवा जागेका हौं ।’ देशलाई विभिन्न राजनीतिक दलका नेताका कारण क्यान्सर भएको कँडेल बताउँछन् । राजनीतिक दलमा टिकट नपाएर स्वतन्त्र उम्मेद्वारी दिएका, चुनावको बहानामा देश लुट्न आउने, भ्रम फैलाएर जितेर लुट्ने योजना बनाउनेलगाउत सोच भएका उम्मेद्वारलाई उनी पटक्कै स्वीकार्दैनन् । आफूहरुजस्ता उम्मेद्वार जनताको हक-अधिकारको ग्यारेन्टी गर्न चुनावी मैदानमा आएको कँडेलको दाबी छ । उसो त क्षेत्र नम्बर ५ मा चर्चित स्वतन्त्र उम्मेद्वारका रुपमा रञ्जु दर्शनालाई पनि हेरिएको छ । क्षेत्र नम्बर ५ मा एमालेका पोखरेलसँग गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् ।
पार्टीका शीर्ष नेताको क्षेत्रमा स्वतन्त्र उम्मेद्वारको पौंठेजोरी
स्वतन्त्र उम्मेद्वारी दिनु भनेको वर्तमान राजनीतिक दलका नेताप्रतिको वितृष्णा हो । देशमा अधिकांश जनताले वर्षौंदेखि एउटै अनुहार भएको नेता हेर्न नचाहेको बताउन थालेका छन् । यस अवस्थामा चुनाव लडे जितिन्छ कि भन्ने मानसिकता स्वतन्त्र उम्मेद्वारी दिनेहरुको हुनसक्छ । स्थानीय तहको निर्वाचनदेखि स्वतन्त्र उम्मेद्वारीमा आकर्षण बढेको देखिएको छ । अझ स्थानीय तहमा महानगरपालिका,उपमहानगरपालिका लगायतमा स्वतन्त्रले जित हासिल गरेपछि आफ्नो भविष्य कोरिनेमा केही व्यक्ति तथा दलका नेताहरु आशावादी छन् ।
वास्तवमा सामान्य नेताले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारी दिएमा अर्को व्यक्ति स्वतन्त्र उम्मेद्वार हुनु स्वभाविकै हो । समाजमा पहिचान बनाएको व्यक्तिले पार्टीको सामान्य नेता उम्मेद्वार भएमा स्वतः जित्नसक्ने अवस्थामा पनि पुग्न सक्छ । तर विभिन्न प्रमुख दलका शीर्ष नेता उठेको क्षेत्रमै दर्जन बढीले स्वतन्त्र उम्मेद्वारी दिएको देखिएको छ । ठूला दलमा रहेर प्रधानमन्त्री भइसकेका अनि वर्तमान पार्टी अध्यक्ष उठेका ठाउँमा उम्मेद्वारी दिन खोज्नु चानचुने कुरो होइन ।
सत्ता गठबन्धन तथा प्रतिपक्षी दलका अध्यक्षले रोजेको निर्वाचन क्षेत्रमै दर्जन बढी स्वतन्त्र उम्मेद्वार हुनु कुतुहुलको विषय बनेको छ । जुन निर्वाचन क्षेत्रमा पार्टीका शीर्ष नेता उठेका छन्, ती क्षेत्रमा पहिचान बनाएका व्यक्तिले स्वतन्त्र उम्मेद्वारी दिएको देखिएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न पार्टीका अध्यक्ष तथा सभापतिले उम्मेदवारी दर्ता गराएका क्षेत्रमा स्वतन्त्र उम्मेद्वारको संख्या उल्लेख्य देखिएको छ ।
शीर्ष नेताको उम्मेद्वारी र स्वतन्त्र उम्मेद्वार
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट पनि ५ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । देउवाको क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेहरुमा सागर ढकाल, दानबहादुर पाल, कर्णसिंह रावल, विक्रमबहादुर शाही र लालबहादुर कठायत छन् । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ओलीले निर्वाचन लड्ने क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिनेहरुमा शान्ता अधिकारी, केदारनाथ चापागाई, दीपककुमार पाठक, रेवतीरमण खनाल, तीर्थेश्वर चौधरी, विष्णुप्रसाद सिग्देल, तुलसीराम काफ्ल, सीताराम पोख्रेल, कल्पना लावती, भेषराज भट्टराई, रामचन्द्र बानियाँ, रोहितप्रसाद पौड्याल, सुलोचना राजवंशी र इन्द्रमणि दाहाल छन् ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र गोरखा २ बाट तीनजनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । विनोदकुमार गुरुङ, डा. माधवी पराजुली (भट्ट) र गणेश देवकोटाले प्रचण्ड उठेको क्षेत्र गोरखा २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । यस्तै, धेरै स्वतन्त्र उम्मेद्वारी लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी ३ मा दिएका छन् । यस क्षेत्रमा ११ जनाले स्वतन्त्र उम्मेद्वारी दिएको खुलेको छ ।
महोत्तरी ३ बाट स्वतन्त्र उम्मेद्वार हुनेहरुमा मंगलदेव ठाकुर, युसुफ साफी, शरतचन्द्र मिश्र, प्रदीपकुमार यादव, रामआधार कापर, रामबाबु सिंह, विनयकुमार यादव, इन्द्रजितकुमार यादव, शंकरप्रसाद कापर, सरविन्द्र यादव र कुलभूषणशेखर शर्मा छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा ९ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । राहुलकुमार मिश्र, कोशिला देवी, अवधेशकुमार ठाकुर, चन्दनकुमार जयसवाल, मोहम्मद जियाउल हक, रामआधार महतो कोइरी, रेवन्त झा, रामबलिकुमार यादव र अनिलकुमार लाल दासले उम्मेद्वारी दिएका हुन् ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ बाट चारजनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । चित्तनारायण यादव, वीरेन्द्रकुमार मिश्र, महेन्द्रप्रसाद देव र विनोदकुमार यादवले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा ८ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । खेमराज भट्टराई, सुदर्शन प्रधान, भाष्करचन्द्र न्यौपाने, सुन्दर डल्लाकोटी, देविका कुँवर, देवराज पौडेल, जगदीश अर्याल र अंगुर पन्तले चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका हुन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ मा ३ जनाले मात्रै स्वतन्त्र उम्मेद्वारी दिएका छन् । प्रेमप्रसाद खनाल, डम्बरबहादुर गिरी र मनोरथ राजवंशीले उम्मेद्वारी दिएका हुन् ।
निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या ९२९ छ । प्रदेशसभामा प्रत्यक्षतर्फ स्वतन्त्रमा एक हजार २५२ ले उम्मेद्वारी दिएका छन् । वास्तवमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा गत निर्वाचनहरुभन्दा बढी स्वतन्त्र उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न दलका शीर्ष नेताहरु उठेको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पनि धेरैले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वर्षौंदेखि विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरु सत्तामा पुगेका छन् ।
तर,समस्याहरु उस्तै रहेको नागरिकको गुनासो छ । देशमा प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि केही परिर्वतन तथा विकासका कामहरु भएको सत्य हो । तर, जुन रफ्तारमा नि:स्वार्थ भएर देशको विकासमा नेताहरु लाग्नुपर्थ्यो, त्यो महसुस नभएको स्वतन्त्र उम्मेद्वारी दिनेहरुको पनि गुनासो छ । दलका नेताहरुले पुरानै प्रवृति दोहोर्याएर परिवर्तन तथा विकासमा ध्यान नदिए, स्वतन्त्र उम्मेद्वारको वर्चस्व संसद्मा नहोला भन्न सकिन्न ।
केशव भट्टराई
