काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरी र लक्ष्मण थारुको उम्मेद्वारी खारेज भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वारी मनोनयन गरेका चौधरीको उम्मेद्वारी खारेज भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।
चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेद्वारी खारेज भएको हो । निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा ०७४ को दफा १३ को ख(ङ) र झ बमोजिम खारेज गरी पाउँ भनी माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए ।
उम्मेदवारी खारेज भएको जानकारी पाएपछि उनका समर्थकले नारवाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनाए ।
०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् । उनी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका छन् ।
यस्तै, सोही घटनामा दोषी ठहर भएका लक्ष्मण थारुको पनि उम्मेद्वारी खारेज भएको छ । उनले पनि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली ५ मा उम्मेदवारी दर्ता गरेका थिए ।
