काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मिति नजिकिदै गएको छ । उम्मेद्वारी दर्ता गरेसँगै सवैजना चुनाव जित्ने रणनीति बनाउँदैछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कलिला उमेरका युवादेखि ९९ वर्ष सम्मकाले प्रतिस्पर्धा गर्दैछन् ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभरबाट ५७ दलले चुनावी प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । दर्ता भएकामध्ये २९ दल भने आउट भएका छन् । ५७ दलका विभिन्न उमेर समूहका उम्मेद्वार छन् । यस्तै स्वतन्त्रतर्फ अधिकांश युवा, समाजसेवी तथा बौद्धिक जगत र पार्टीबाट टिकट नपाएकाहरु चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
आगामी मंसिर ३ गते १८ वर्ष पूरा हुनेले मतदान गर्ने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ हजार २ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेहरुमा पार्टीका नेतादेखि स्वतन्त्र व्यक्ति छन् । अझ उमेर समूहको कुरा गर्ने हो भने २२ वर्षिय यु्वादेखि ९९ वर्षका बृद्ध जोसिलो आँटका साथ मैदानमा उत्रिएका छन् । अझ शीर्ष दलका शीर्ष नेताहरुको क्षेत्रमा को को उम्मेद्वार छन् भन्नेतिर सबैको ध्यान केन्द्रित हुने गरेको छ ।
यसपटकको निर्वाचनमा फरक सोच र उमेरका एक उम्मेद्वारले गोरखाबाट चुनाव लड्दैछन् । उमेरले डाँडाँ काटेपनि राजनीति मोह नछोडिकन चुनावी मैदानमा उत्रिने राजनीतिक अनुहारहरु निकै छन् । अब पुरानो पुस्तालाई बिदा गरेर युवा जगतलाई शासनसत्तामा ल्याउनुपर्छ भन्ने सोचको विकास पनि भइरहेकै छ । यस अवस्थामा निर्वाचन ६० वर्षभन्दा माथिका ५ सय बढीेले जितेर केही गर्ने सोचका साथ उम्मेद्वारी दिएका छन् ।
रोचक तथा प्रेरणादायी कुरा के छ भने, गोरखाको क्षेत्र नम्बर २ बाट ९९ वर्षिय एक बृद्धले प्रतिनिधिसभाको सदस्यमा उम्मेद्वारी दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ निर्वाचन क्षेत्र परिवर्तन गरेर गोरखा– २ मा पुगेका छन् । पहिले बाबुराम भट्टराईले विजयी हासिल गर्दै आएको उक्त क्षेत्रमा प्रचण्ड १३ जना उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा ९९ वर्षिय टीकादत्त पोखरेलदेखि एमालेबाट २९ वर्ष उमेरका अब्दुस सलाम मियाँले चुनाव लड्दैछन् । वास्तवमा गोरखा २ मा बाबुरामले छोडेर प्रचण्डले चुनाव लड्ने भएपछि राजनीतिक माहोल पनि फरक छ ।
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुनेसमेत एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जनाले मतदान गर्न पाउने छन् । ९१ लाख ४० हजार आठ सय ६ पुरुष छन् । सय वर्ष पुग्नै लागे पनि लाखौं पुरुषको भिँडबाट टिकादत्तले चुनावी मैदानमा आउने साहस गरेका हुन् ।
सानै उमेरदेखि राजनीतिक छाप लागेका उनमा त्यसको तिर्खा अझै पनि हट्न सकेको छैन । प्रजातान्त्रिक विचारधारा बोक्ने उनका लागि राजनीति कुनै नयाँ विषय पनि होइन । उनी नेपाली कांग्रेस बीपीका तर्फबाट प्रचण्डसँग प्रतिस्पर्धा गर्नेगरी चुनावी दौडमा निस्किएका हुन् ।
आगामी मंसिरमा हु्ने निर्वाचनमा सत्ता गठबन्धनको एउटा मोर्चा छ । एमालेको अर्को मोर्चा छ । तर सानै पार्टीमा तत्काल दर्ज भएपनि ९९ वर्षिय टीकादत्त सत्ता र विपक्ष दलको मोर्चा अनि वर्तमान सत्ता सन्चालनमा प्रमुख भूमिका खेलेका प्रचण्डसँग अलिकति पनि विचलित छैनन् ।
विसं.१९८० कात्तिक १५ गते जन्मिएका टीकादत्त प्रतिनिधिसभा सदस्य उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन्। उनी गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकको माझगाउँबेसीका बासिन्दा पनि हुन् । प्रचण्डदेखि विभिन्न उमेर समूहका महिला–पुरुषलाई जितेर विजयी हुने उनले लक्ष्य लिएका छन् ।
राजनीतिक योगदानकै चर्चा गर्ने हो भने, २००७ सालको क्रान्तिका एक उदाहरणीय व्यक्ति हुन् टीकादत्त। उनी तत्कालीन अवस्थामा कांग्रेसले गठन गरेको मुक्ति सेनामा संलग्न भएर जहानीयाँ राणा शासनको अन्त्य गर्न ज्यानको पर्वाह नगरिकन लागेका थिए ।
प्रजातन्त्रप्रति विश्वास भएकाले नै कांग्रेसको मुक्ति सेनामा लागे । मुक्ति सेनामा लागेपछि उनको सम्पर्कमा भारतमा विभिन्न कांग्रेस नेताहरुसँग भयो । राजनीतिप्रतिको चाख अझै बढ्दै गयो । राणा शासनको अन्त्य भएपछि टीकाले गोरखाको छोप्राकमा मण्डली मावि स्थापना गर्न अगुवाइ गरे । पञ्चायतकालमा आन्दोलनमा लाग्दा ६ वर्ष जेल जीवन विताएको तीतोे अनुभव पनि उनीसँग छ ।
यस्तै पञ्चायतकालमा परिवर्तनका लागि भएका विभिन्न चरणको आन्दोलनमा ६ वर्षसम्म जेल परेको उनले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । जति नै क्रान्ति र आन्दोलन गरे पनि देशको अवस्था परिवर्तन नभएकामा उनी चिन्तित छन् । २००७ सालदेखि २०६२÷६३ सालको आन्दोलनमा होमिएका उनले अहिलेसम्म भनेजस्तो परिवर्तन र उपलब्धि देखेनन् । शासनसत्तामा पुगेका नेताहरुले देश र जनतामाथि गरेको अन्याय सहन नसकेर उम्मेदवारी दिएको उनको अर्को प्रतिक्रिया छ ।
२०४७ को आन्दोलनपछि कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रियसभामा जान प्रस्ताव गरे । तर उनले अस्विकार गरिदिए । उनमा कहिल्यै पनि अरु नेतामा जस्तो राजनीतिक पद लिने चाहानै भएन । जनताले खानलाउन नपाएका अवस्थामा पद लिन उनको मनले मान्दै मानेन । जनस्तरदेखि माथिल्लो तहसम्म आशा गरेअनुसनारको परिवर्तन नदेखेपछि उम्मेदवार बन्न कस्सिएको टिकादत्तको प्रतिक्रिया छ ।
उनले केही वर्षअघि मात्रै कांग्रेसको सक्रिय राजनीति छाडेको घोषणा गरेका हुन् । उनमा उमेर बढी भएपनि परिवर्तन ल्याउन सकिन्छ कि भन्ने अझै जोस छ । राजनीतिक वेथितिलाई हटाउँदै देशको अवस्थामा केही सुधार गर्न सकिन्छ कि भनेर उनले उम्मेदवारी दिएका हुन् ।
वास्तवमा टीकादत्तको राजनीप्रतिको चाख र जोस कोही युवाको भन्दा कम छैन । उनी ज्येष्ठ नागरिकले चाहेमा नसोचेको परिणाम ल्याउन सक्ने एक उदाहरणीय हुन खोज्दैछन् । उनले चुनाव जिते पनि, नजिते पनि देश तथा जनताले सलाम गरिरहने छन् । जितहार जे भएपनि उनीमा देखिने शाहस र निडरपन विजयीको प्रतिक हो ।
केशव भट्टराई
