प्रतिनिधि/प्रदेशसभा निर्वाचन
चुनावी मैदानमा ५,६३६ उम्मेद्‌वार, सबैले पाए चुनाव चिह्‌न

चुनावी मैदानमा ५,६३६ उम्मेद्‌वार, सबैले पाए चुनाव चिह्‌न


‘काठमाडौंको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३२ जना उम्मेद्‌वार, कम हुम्ला र मनाङ'

  • 5.0K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    चुनावी मैदानमा ५,६३६ उम्मेद्‌वार, सबैले पाए चुनाव चिह्‌न

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेद्‌वारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । जसअनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेद्‌वार चुनावी मैदानमा छन् । यस्तै प्रदेशसभाका लागि ३,२२४ जनाको उम्मेद्‌वारी कायम भएको छ ।

    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी उम्मेद्‌वार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा कम हुम्ला र मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

    काठमाडौ १ मा १० महिलासहित ३२ जना उम्मेद्‌वार चुनावी रस्साकस्सीमा छन् । सबैभन्दा कम हुम्ला र मनाङमा ३-३ जना उम्मेद्‌वार छन । बागी र स्वतन्त्र उम्मेद्‌वारहरूमध्येबाट ३७६ जनाले उम्मेद्‌वारी फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै उम्मेद्‌वारहरूलाई चुनाव चिह्‍न पनि प्रदान गरेको छ । आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेद्‌वारलाई चिह्न प्रदान गरेको हो । प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्‌वारको संख्या देशभर ८६७ जना रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र उम्मेद्‌री फिर्ता लिएर पनि ८६७ जना स्वतन्त्र उम्मेदवार कायम भएका हुन् ।

    नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेद्‌वार सागर ढकालले चुनाव चिह्‌न ‘सिरिन्ज’ पाएका छन् । यसैगरी नेकपा एमालेबाट टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्‌वारी दिएका घनश्याम भुसालले त्रिभुज चिह्न पाएका छन् ।

    तनहुँ १ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेद्‌वारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिह्न पाएका छन् । यसैगरी झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्‌वारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् ।

    यसैगरी चितवन ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्‌वारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा र चितवन ३ कै प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्‌वार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिह्न पाएका छन् । 

    यसैगरी काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिह्‍न माछा पाएका छन् । यस्तै एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ १ बाट उम्मेद्‌वारी दिएकी गंगा चौधरीले चुनाव चिह्न लौरो पाएकी छन् ।चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिह्न पाएकी हुन् ।

    यसैगरी नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् । काठमाडौं ७ मा स्वतन्त्र उम्मेद्‌वारी दिएका यादवलाल कायस्थले चुनाव पानीको जार चिह्न पाएका छन् । 

    यसैगरी रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्यान्ड पाइप (हातेकल) कायम भएको छ । कैलाली  ५ मा स्वतन्त्र उम्मेद्‌वारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले चुनाव चिह्न ‘माछा’ तथा  कैलाली प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चिह्न पाएको आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चुनाव

  • तेस्रो आँखा