एमाले राजनीति
भीम रावललाई टिकट नदिनु कति घातक ?

भीम रावललाई टिकट नदिनु कति घातक ?


कम्तिका छैनन् रावल पनि

  • 5.7K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    भीम रावललाई टिकट नदिनु कति घातक ?

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रमुख दलका अधिकांश चर्चित अनुहारले टिकट पाएनन् । जनता र कार्यकर्ताको मन राखेका नेताले समेत विशेषगरी कांग्रेस र एमाले पार्टीबाट टिकट पाएनन् । दलहरुले टिकट पाउनुपर्ने नेताहरुलाई बाइपास गरेपछि त्यसले कस्तो मतपरिणाम ल्याउला भन्ने सोचनीय विषय भएको छ । यस्तै लोकप्रिय अनुहारलाई बाइपास गर्दा पार्टीको भविष्य कता जाला भन्ने पनि प्रश्नचिह्न उब्जिएको छ ।

    images

    लेखनको यस शृंखलामा अन्य पार्टीका उम्मेद्वारलाई बाइपास गरेको विषय छोडेर एमालेको प्रसंग कोट्याइएको छ। गत निर्वाचनमा स्वाभिमानलगायत एजेन्डा अगाडि सारेपछि केपीशर्मा ओली चर्चामा आए । लोकप्रिय स्वाभिमानी नेता ओली जनताले विश्वास गरेर माअ‍ोवादी र एमालेको गठबन्धनलाई बहुमत दिएपछि प्रधानमन्त्री भए । तर  नेकपामा फुट भएपछि सर्वोच्च अदालतको फैसालासँगै सत्ता सञ्चालनबाट हात धुनुपर्यो ।

    नेकपामा फुट आएपछि एमाले पुरानै अवस्थामा फर्कियो । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी दोस्रोमा खुम्चियो । स्थानीय निर्वाचनमा माओवादी, कांग्रेसलगायत पाँचदलीय गठबन्धनका अगाडि  एमालेको चुनावी बर्चस्व गुम्यो । ओली निकटकै केही नेता तथा कार्यकर्ताहरुले  हरेक पक्षबाट पार्टीको साख जोगाउन पार्टी तथा देशकै अभिभावक ओलीले  टिकट दिँदा ख्याल गर्नुपर्थ्यो भनिरहेका छन् ।  ‍‍

    गठबन्धनसँग चुनाव जित्न कठिन पर्छ भन्ने जान्दाजान्दै र जनताले नयाँ शक्ति खोजिरहेको जान्दाजान्दै एमाले बुझेर पनि बुझ पचाएको जस्तो अवस्थामा छ । पछिल्लो समय पार्टीका चर्चित अनुहारलाई टिकट निषेध गरेबाट पनि प्रस्ट हुन्छ कि एमाले बुझेर पनि बुझ पचाइरहेको छ । चर्चित अनुहारलाई बाइपास गर्दा आगामी मंसिर ४ गते हुने निर्वाचनको मैदानमा लडेर विजय प्राप्त गर्न एमालेलाई कठिन हुने देखिन्छ । एकातिर बहुमतको सरकार गुमाएर प्रतिपक्षीमा खुम्चिनु परेको अवस्था छ । अर्कातिर स्थानीय तहको निर्वाचनमा पनि दोस्रो स्थानमा खुम्चिएको अवस्था छ  

    पछिल्लो पुस्ताका बाठा मतदाताले एमालेको विभिन्न क्रियाकलाप टुलुटुल हेरेर मात्रै बसेका छैनन् । यस्तै क्रियाकलाप हो भने आगामी निर्वाचनमा एमालेको सूर्य चिह्नलाई दिमागबाट आउट गर्ने मानसिकता मतदाताले नबनाउलान् भन्न सकिन्न । प्रसंग एमालेले टिकट दिनबाट वञ्चित गरेका नेता भीम रावलको हो । एमालेमा कमैमात्र विद्यावारिधि गरेका नेताहरु छन् ।

    रावल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने अध्ययनशील नेताका रुपमा चिनिन्छन् । उनी देशको भाग्य र भविष्यको रेखा कसरी कोर्न सकिन्छ भनेर धेरै नै चिन्तन मनन् गर्छन् । आफ्नै पार्टी वा अन्य पार्टीले गरेका क्रियाकलाप चित्त नबुझे प्याच्च टिप्पणी गरिहाल्छन् । तर उनले जोसुकैलाई गर्ने टिप्पणी जनताले रुचाउने खालको छ । नेता हुनुपर्छ त भीम रावल जस्तो भन्ने जनताको भावनालाई एमाले नेतृत्वले मज्जैले बुझेको हुनुपर्छ । सवै कुरा थाह हुँदाहुँदै रावललाई टिकटबाट वञ्चित गर्नु भनेको एमालेलाई निर्वाचन जित्न फलामको चिउरा चपाउनु बराबर हुनसक्छ । 

    अर्कातिर, नेता रावलकै कमजोरीको कुरा गर्ने हो भने उनी पार्टीको ह्वीप नमान्ने नेताको रुपमा गनिन्छन् । उनले ओली नेतृत्वमा बैठक बसेर जे निर्णय गरे पनि लत्याउने गरेका छन् । विधानविपरित पार्टीको नै साख गिर्ने गरी अभिव्यक्ति दिने गरेका प्रशस्त उदाहरणहरु छन् । नेता रावलबाट अध्यक्ष ओलीविरुद्ध कटाक्ष अभिव्यक्ति आउनु कदापि राम्रो होइन । अर्को कोणबाट हेर्दा नेता रावलले पार्टीकै अध्यक्षलाइ कटाक्ष गर्नु उपयुक्त हुँदै होइन । रावलको अभिव्यक्ति पार्टीको नीतिविपरीत हो । तर एउटा शक्तिका रुपमा रहेका र जनताले पनि बेलाबेला वाहीवाही भन्ने रावललाई  टिकट नदिएको परिणाम नकारात्मक हुन सक्छ भन्ने कुरालाइ एमाले नेतृत्वले बुझ्न आवश्यक थियो । 

    आफ्नै पार्टीबाट टिकट नपाएपछि रावलले अपमान महसुस गर्नु स्वभाविकै हो । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष ओलीलाई संसद्‌मा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झन्डै दुईतिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउने भनेका छन् । वास्तवमा रावलका यस्ता अभिव्यक्ति टिकटबाट वञ्चित गरिँदाको परिणाम हो ।
     
    वास्तवमा रावलले देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितिमा सक्रियताका साथ आवाज  पनि नउठाएका होइनन् । कानुन निर्माणमा क्रियाशील  पनि हुन् । यस अवस्थामा ‘क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेद्‌वार हुन नपाउने किन ? भन्ने उनको प्रश्न जायज छ । 

    एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरुको हकमा यो व्यवस्था लागु नगरेको रावलको गुनासो छ । वास्तवमा पार्टीका परिवर्तनकामी र विकासप्रेमी नेतालाई निषेध गरिएपछि एमाले पार्टीभित्र तथा देशकै राजनीतिमा तरंग छाएको छ । 

    रावल अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए । अन्ततः सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाए । २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् । रावल यसअघि २०५१ देखि २०७४ सम्म सो क्षेत्रबाट उम्मेदवार बनेका थिए । 

    पार्टी नेतृत्वलाई अलिकति पनि सम्मान नगर्ने रावललाई बाइपास गर्नु पनि स्वभाविक हो । तर चुनावको मुखैमा आएर बौद्धिक शक्तिका रुपमा उदाएका रावलको समूहलाइ कम्तिमा टिकट दिएर थम्थमाउनु पर्थ्यो । टिकट बाइबासको नीतिले एमालेलाई फाइदा पुग्ने देखिँदैन । चर्चित अनुहार बाइबाससँगै ओलीविरुद्ध दिएका अभिव्यक्तिले पनि पार्टीको मतपरिणाममा धक्का नपुग्ला भन्न सकिन्न । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # भीम रावल

  • केशव भट्टराई
    लेखकबाट थप