काठमाडौं । देशमा आगामी मंसिर ४ गते हुने निर्वाचनको रौनक छाएको छ । उम्मेद्वारी दर्ता भएसँगै सबैजना मतदाता रिझाउन घरदैलोमा पुग्न थालेका छन् । यो निर्वाचनमा २२ वर्षदेखि ९९ वर्ष उमेर समूहका उम्मेद्वार चुनावी मैदानमा छन् ।
यसैक्रममा युवाहरुले नयाँ जोस र सोच लिएर चुनावी मैदानमा छन् । चुनावी मैदानमा उत्रिएका युवाहरुमध्ये डडेलधुराबाट उम्मेद्वारी दिने ३१ वर्षीय सागर ढकाल पनि छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउने लक्ष्य बोकेर चुनावी मैदानमा छन् ।
अबको ५० वर्षमा नेपाललाई कस्तो बनाउन सकिन्छ भनेर परिकल्पना गरेर राजनीतिमा आएको ढकाल बताउँछन् । आफूले एउटा मात्रै नभई १० वटा चुनाव सोचेको ढकालको भनाइ छ । स्वतन्त्र युवा उम्मेद्वार ढकालको स्थायी घर गुल्मी हो । चुनाव भने डडेलधुराबाट लडिरहेका छन् । आफ्नो जिल्लामा भन्दा बढी समस्याहरु वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंदेखि जित्दै आएको जिल्लामा उनले देखेका छन् ।
ढकाल पाँच वर्षअघि बीबीसीको साझा सवालमा तत्कालीन प्रधानमन्त्री देउवासँगै सवालजवाफमा उत्रिएपछि एकाएक चर्चामा आएका युवा हुन् । देउवाको आक्रोशपूर्ण जवाफको प्रभावले पनि राजनीतिक फिल्डमा आउने सोच बनाएको उनी बताउँछन् । उनी सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने सोच लिएर अगाडि बढेका युवा पनि हुन् ।
पाँच वर्षअघि ढकालले साझा सवालमा प्रश्न सोध्दा देउवा खुबै फायर भएका (रिसाएका) थिए । देउवा सागरसँग रिसाएको भिडियो सामाजिक सन्जालमा निकै नै भाइरल बन्यो । देउवाले रिसाउँदै गाली गरेपछि एकाएक चर्चामा आएका युवा हुन् ढकाल । गहन प्रश्न सोधेर र्याखर्याखी पारेपछि देउवा खुबै रिसाएका थिए । वास्तवमा देउवाको त्यही रिस ढकालको मनमा गढी रह्यो । सामान्य परिवारको उनलाई त्यस बेलासम्म राजनीतिमा ‘र’ पनि थाहा थिएन । देउवाले आक्रोशपूर्ण व्यवहार देखाउँदै आफूले राखेको जिज्ञासा नमेटाएको इखसँगै देश बनाउने सोच उनमा आउँदै गयो । उनले बेथिति बढ्दै गएको देशमा केही गर्ने चाहना बुन्दै गएको परिणाम अहिलेको उम्मेद्वारी पनि हो ।
ढकालले ललितपुरस्थित इन्जिनियरिङ क्याम्पसबाट हाइड्रो मेकानिकल इन्जिनियरिङ गरेका छन् । देउवालाई साझा सवालमा प्रश्न गर्दा उनले पुल्चोकबाट इन्जिनियरिङ सकेका थिए । वास्तवमा इन्जिनियर ढकाल प्रसिद्ध पुल्चोक चोक क्याम्पस हुँदै अक्सफोर्ड कलेजसम्म पुगेर स्नात्तकोत्तर उत्तीर्ण गर्ने एक बौद्धिक युवा पनि हुन् । उनी बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट हाइड्रो पावर इन्जिनियरिङमा स्नात्तकोत्तर उत्तीर्ण गरेर भर्खरै स्वदेश फर्किएका हुन् ।
‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै प्रश्न गरेका ढकालले अन्ततः सोही विश्वविद्यालयबाट स्नात्तकोत्तर गरे । तत्कालीन प्रधानमन्त्री देउवालाई ढकालले एउटै व्यक्ति ४/५ पटक किन प्रधानमन्त्री ? तपाईं कहिले विस्थापित हुने ? नेपालमा अक्सफोर्ड विश्वविद्यालयको जस्तो पढाइ किन नभएको ? प्रश्न गरेका थिए ।
यसको सवाल जवाफ दिँदै प्रधानमन्त्री देउवाले ‘नेपालमा कहाँबाट ल्याउने अक्सफोर्ड ? तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्दै हकारेका थिए । देउवा र ढकालको सवाल-जवाफ सामाजिक सन्जालमा भाइरल बनेको थियो । वास्तवमा त्यसबेला ढकालमाथि देउवाले गरेको व्यवहारले ढकाललाई चाहिँ उचाइँमा पुर्याएको थियो । देउवाको आक्रोशको चौतर्फी विरोध भयो । अन्ततः पार्टी अध्यक्ष तथा प्रधानमन्त्री देउवाको आक्रोशको असर निर्वाचनसम्म पुगेको केही राजनीतिकशास्त्री दाबी गर्छन् ।
देउवाले आक्रोशपूर्ण रुपमा दिएको जवाफ ढकालकोे मनमा गढिरह्यो । बिर्सनै सकेनन् । उनी देउवाप्रतिको त्यही इगो बोकेर पुलचोकबाट इन्जिनियरिङ सकेर स्नात्तकोत्तरमा इन्जिनियरिङ गर्न बेलायत गएका थिए । बेलायतबाट पढाइसकेर आएपछि उनमा इन्जिनियरिङ फिल्डभन्दा राजनीतिमा आउने रुची बढेर गयो ।
ढकालको इख भनेको देउवासँगै वर्तमान राजनजीतिक बेथितिसँग छ । त्यसैले गुल्मीबाट नभइ उनले डडेल्धुराबाट आफ्नो पहिचान स्थापित गर्दै छन् । यहाँसम्मकी वर्तमान प्रधानमन्त्री देउवालाई हराउँदै जित हासिल गर्न उनी हरप्रयास गरिहेका छन् । विभिन्न योजना तथा चुनावी एजेन्डा बनाएर भोट जित्ने ध्याउन्नमा छन् ।
ढकाल डडेलधुरा आएर जनताको घरदैलोमा पुग्दै छन् । उनले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मिजासिलो व्यवहार गरेको जोकोहीलाई मन परेको छ । उनको भोट माग्ने शैली कुनै वर्षौं अनुभवी नेताको शैलीभन्दा कम छैन । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवालाई हराउँछु भन्नु निकै नै साहसिक राजनीतिक खेलको उदाहरण पनि हो ।
प्रधानमन्त्री देउवा जुनसुकै राजनीतिक काम गर्दा ज्योतिषलाई देखाउने गर्छन् । मठ-मन्दिर तथा घरमा पूजापाठ लगाउने गर्छन् । धर्मकर्ममा खुबै विश्वास गर्छन् । अर्कातिर ढकालसँग पनि धार्मिक तथा सांस्कृतिक भाव छ । यहाँसम्मकी ढकालले चुनाव जित्ने शक्ति मिलोस् भन्दै देवीको मन्दिरमा चण्डी पाठ लगाउँदै पूजाआजा गरेका छन् । उनले पूजा गरिरहेको भिडियोसमेत बाहिरिएको छ ।
वास्तवमा युवा उम्मेद्वार ढकाल अहिलेको राजनीतिक अवस्थाबाट वाक्कदिक्क छन् । देशमा वर्षौंसम्म प्रतिनिधिसभा सदस्य हुँदै सरकारमा पुगेर पनि केही गर्न नसकेको उनको गुनासो छ । ढकाल आफूले प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी नदिएको बताउँछन् । राष्ट्रनिर्माणको एजेन्डा बोकेर चुनौती खोज्दै डडेल्धुरा पुगेको उनको जिकिर छ । उनी अब मुलुक हाँक्न ४० वर्षमुनिका युवा आवश्यक रहेको धारणा राख्छन् । संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वार भएपछि ‘युवाहरूको प्रत्यक्ष नेतृत्व, बुवाआमाको सल्लाह, हजुरबुबा-हजुरआमाहरूलाई स-सम्मान पूर्ण आराम’ भन्ने नारा उनले तय गरेका छन् ।
आगामी संसदीय निर्वाचनमा उनी ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीनवटा मुद्दा लिएर अगाडि बढेका छन् । उनका एजेन्डामा वातावरण विकास सँगसँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुबाआमाबाट सल्लाह, हजुरबुबा-हजुरआमाहरूलाई स-सम्मान आराम र विकास अनि संविधानमा उल्लेख गरिएका बुँदाहरू छन् । प्रधानमन्त्री देउवाका साथै केपी शर्मा ओली, प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउनुपर्ने सोच उनले बनाएका छन् ।
ढकाल हाइड्रो पावरको विकास गर्दै देशको विकास गर्न सकिनेमा विश्वास राख्छन् । उनले नेपालको ऊर्जा क्षेत्रमा पनि काम गरेका छन् । यहाँसम्म कि ऊर्जा मन्त्रालयमा काम गर्दा उनले देशमा विभिन्न बेथिति भएको पत्ता लगाएका छन् । ऊर्जा क्षेत्रमै काम गरेर उनले नेपालमा भएका बेथिति समाधान हुने सम्भावना देखेनन् । राजनीतिक नेतृत्वमा पुगेर मात्रै बेथिति समाधान हुनसक्ने देखेपछि राजनीतिमा आएको उनी बताउँछन् । देशको सिस्टम सुधार्न आफूले १२ वर्ष अघिदेखि सोच बनाउँदै आएको उनी बताउँछन् ।
