काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई साधारण सदस्यबाटै निष्कासन गरेको छ । पार्टीले दिएको टिकट होल्ड गर्दै स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै एमालेले पार्टीविरोधी गतिविधि गरेको आरोपमा कारबाही गरेको जनाएको छ ।
महासचिव शंकर पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह तथा सह-इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ ।’
साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए ।
एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ । रौतहट जिल्लाको सह-इन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई तोकेको महासचिव पोखरेलद्वार जारी विज्ञप्तिमा छ । साहले पनि स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको घोषणा गरेका थिए ।
यसैबीच सत्तारूढ गठबन्धनले रौतहट ३ मा साहलाई समर्थन गर्ने भएको छ । उसो त रौतहट ३ मा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेद्वार बनेका छन् । स्वतन्त्र उम्मेद्वार बनेका साहले चापाकल चुनाव चिह्न पाएका छन् ।
