जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।
संघीय सरकारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीनजना मन्त्रीलाई शुक्रबार हटाएका हुन् । प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा सामेल थिए ।
मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । तर सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन् ।
