काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको किस्ट मेडिकल कलेजका चिकित्सकले आइतबार बिहान एक खबर प्रवाह गरे । खबर यस्तो थियो, ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन ।’
लगत्तै आत्मकथा ‘सत्यमोहन’का लेखक गिरीश गिरीले सामाजिक सन्जाल ट्विटरमा आइतबार बिहान ७:३७ मा लेखे, ‘सत्यमोहन सर रहनुभएन । अहिले बिहान ७ बजेर ९ मिनेटमा हामीबाट बिदा हुनुभयो ।’
जसले सारा नेपालीलाई स्तब्ध बनायो । नेपालीहरुको भाषा, कला र संस्कृति संरक्षणको मियो ढल्यो । एक युगको अवसानले सारा नेपालीको मन शान्त छैन । विह्वल छ ।
ललितपुरको बखुम्बहालमा १९७७ वैशाख ३० गते (आमा) राजकुमारीबाट संसारमा पाइला टेकेका सत्यमोहन दशकौँसम्म सम्मानित रहे ।
साराले पढेको सत्यमोहन को हुन् ? भन्दा अर्थपूर्ण इतिहास र युगको मियोमाथि अन्याय हुन्छ । अवसान इतिहास युगको विगत कस्तो छ ? थाहा पाउन विगततिरै पुगौं ।
डा. सत्यमोहन जोशी पिता शंकरराज जोशी र आमा राजकुमारीका ज्येष्ठ पुत्र हुन् । काठमाडौंस्थित त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गरेका सत्यमोहनले तीनपटकसम्म मदन पुरस्कार पाए । भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासका लागि उनको योगदान रह्यो ।
सत्यमोहनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरिएको थियो । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरिसकेको छ ।
प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृतिका लेखक सत्यमोहनले २०१३, २०१७ र २०२८ सालमा गरेर तीनपटक मदन पुरस्कार पाए ।
०१३ मा ‘लोक संस्कृति’ नामक पुस्तकले, ०१७ मा ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकले ०२८ मा ‘कर्णाली लोक संस्कृति’ नामक पुस्तकले मदन पुरस्कार पाएका हुन् । र, तीनपटकसम्म मदन पुरस्कार पाएर इतिहास रच्ने व्यक्ति उनै सत्यमोहन हुन् ।
थप पढ्न यहाँ थिच्नुहोला ।
