काठमाडौं । स्वर्णीम वाग्ले र डा. गोविन्दराज पोखरेल नेपाली कांग्रेसका दुई हस्ती बौद्धिक नेता हुन् । दुवै नेता नेपाली जनताबीच परिचित हुन् । देशमा निर्वाचनको माहोल भइरहेका बेला यी दुई नेता आजभोलि कांग्रेसको घोषणापत्र लेख्न व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट पाउने लगभग निश्चित भएका यी नेताहरु अन्तिम समयमा आएर बन्चित भए । दुवै नेता टिकट पाउन बन्चित भएपछि स्वयं कांग्रेसका नेता–कार्यकर्ताहरु पनि आश्चर्यचकित छन् ।
को हुन् स्वर्णीम वाग्ले ?
कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका स्वर्णीम वरिष्ठ अर्थशास्त्री एवम् लेखक हुन् । उनी राजनीतिक कार्यकर्तासँगै विश्लेषक पनि हुन् । स्वर्णीमले ‘अतृप्त अवसर’ नामक पुस्तक पनि लेखेका छन् । २०७४ देखि २०७८ सम्मको कालखण्डको अर्थ–राजनीतिक रेकर्ड राख्ने उद्देश्यले उनले यो पुस्तक लेखेका हुन् । स्वर्णीमद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी रहेको कतिपय विद्वान बताउँछन् । उनको अन्य परिचय दिनुपर्दा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनले २०७४–०४–२२ (अगस्ट २०१७) देखि फेब्रवरी २०१८ सम्म रााष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा काम गरे । यस्तै राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी दुई कार्यकालसम्म (सेप्टेम्बर २०१६ २०१ देखि अगस्ट २०१७ र मे २०१४ देखि नोभेम्बर २०१५) सम्हालेका थिए ।
चितवन १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने चाहना उनमा धेरै नैं थियो । तर चाहना मनभित्रै दबाएर निर्वाचनका लागि अरु पाँचवर्ष पर्खिनु पर्ने भएको छ । आफूले पहिलेदेखि नै तयारी गरेकाले टिकट पाउन धेरै आश गरेका नेतामा स्वर्णीम पर्दछन् । तर पार्टीले टिकट दिन अस्वीकार गरिदियो । स्वर्णीम आजभोलि कांग्रेसको घोषणापत्र लेखनमा सक्रिय छन् । स्वर्णीम र डा. गोविन्दराज पोखरेल घोषणापत्रलाई अन्तिम रुप दिन लागि परेका हुन् । स्वर्णीमको चितवन, काठमाडौ वा गोरखाबाट चुनाव लड्ने चर्चा थियो । तर बन्चित भए । अहिले भने कांग्रेसले उनलाई घोषणा पत्र तयारी गर्ने जिम्मेवारी दिएर थम्थमाएको छ । चुनावमा उठ्ने तीव्र चाहना बनाएका उनको मन आजभोलि घोषणा पत्रका बुँदामा के राख्ने भन्ने शब्द र वाक्यांश छान्दै वितिरहेको छ ।
को हुन् डा. गोविन्दराज पोखरेल ?
आसन्न निर्वाचनमा टिकट पाउनबाट बञ्चित हुने नेतामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल पनि पर्दछन् । अध्ययनशील उनी भौतिक पूर्वाधार विज्ञ पनि हुन् । पार्टीको तर्फबाट प्युठानमा आगामी निर्वाचनमा टिकटको आकांक्षा राखे पनि पाउन सकेनन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमख प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति पनि हुन् । एमालेले नियुक्त गरेका तत्कालीन सुशील ज्ञवालीलाई बर्खास्त गरिएपछि उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका उनी भूकम्पपछिको पुनःनिर्माणमा सशक्त काम गरेका एकजना मुख्य योजनाविद् मानिन्छन् । भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन, पुनःनिर्माण प्राधिकरणमा मुख्य जिम्मेवारीमा रहेर काम गरेका व्यक्ति हुन् गोविन्दराज ।
स्वर्णीम र गोविन्दराजले किन पाएनन् टिकट ?
गत स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा जनताले बौद्धिक, फरक योजना ल्याउने र उमेर समूहमा युवालाई रुचाउन थालेको देखिएको छ । जनतालाई पछिल्लो समय कुन पार्टीको नेता कति वर्ष जेल परेकोभन्दा राजनीति नै नगरेको, काम गर्ने खालको र नयाँ योजना तथा विचार बोकेको व्यक्ति प्रिय लाग्ने देखिएको छ ।
राजनीतिक दलका केही नेता जनप्रिय र देशको बिकासलाइ कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालका पनि छन् । कांग्रेसका लोकप्रिय तथा विकासप्रेमी उम्मेद्वाहरुमा स्वर्णीम वाग्ले र डा. गोविन्द पोखरेल पनि पर्दछन् । स्वर्णीमको चितवन, काठमाडौ वा गोरखाबाट चुनाव लड्ने चर्चा थियो । कांग्रेस र मतदातामा समेत पहिचान बनाएका नेता स्वर्णीमको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भयो । यस्तै उनले काठमाडौं क्षेत्र नम्बर ५ वा गोरखा १ बाट पनि चुनाव लड्ने विकल्प अघि सारे । तर उनको नाम सिफारिस र विकल्प पनि कागजमै सीमित भयो । चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइयो । यता काठमाडौं ५ मा प्रदीप पौडेललाई टिकट दिइएपछि स्वर्णीमले टिकट पाउँदै पाएनन् ।
कांग्रेस महामन्त्री गगन थापाले उनलार्ई उम्मेदवार बनाउन धेरै नै प्रयास गरेका थिए । अन्यत्र नमिले आफ्नै क्षेत्र (काठमाडौं ४) छोडिदिन पनि गगन तयार थिए । तर यो योजनालाई पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरिदिए । देउवाले काठमाडौं ४ मा गगन उम्मेदवार नबने स्वर्णिमको सट्टा अर्कै व्यक्तिलाई टिकट दिने बताएपछि कुरा मिल्दै मिलेन ।
यस्तै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गोविन्दराजको प्युठानबाट चुनाव लड्ने चर्चा थियो । तर दुर्भाग्य भयो उनलाई । गठबन्धन गर्दा राष्ट्रिय जनमोर्चाको भागमा प्युठान परिदियो । यता गोविन्दराजले यसअघि आफू निर्वाचन लडेको क्षेत्रमा गठबन्धनका उम्मेदवारको पक्षमा भोट नमाग्ने घोषणा गरेका छन् । ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी पौडेलले कांग्रेसबाट उम्मेदवार बनेका गोविन्दराजलाई पराजित गरेकी थिइन् । प्युठानमा कांग्रेसबाट पोखरेलसहित ६ जनाको नाम सिफारिस गरेको थियो ।
स्वर्णीम र गोविन्दराजको सम्भावित अवसर
स्वर्णीम र गोविन्दराज कांग्रेसबाट आगामी निर्वाचनका लागि छुटाउनै नहुने नेता भएको केही कांग्रेस नेता–कार्यकर्ता स्वीकार गर्छन् । यस्तै जनबोलीमा पनि मतदाताले रुचाइएका अनुहारमा यी दुईजना पर्दछन् । विकासप्रेमी यी दुई नेता यसपालिको चुनावमा उठेका भए जित्ने सम्भावना पनि उत्तिकै थियो ।
स्वर्णीम र गोविन्दराजलाइ टिकट नदिइनुका पछाडि विभिन्न रहस्य भएको चर्चा–परिचर्चा हुन थालेको छ । विभिन्न चियापसलदेखि राजनीतिक दलका कार्यालयमा उनीहरुको सवालमा खुबै कुराकानी हुन्छ । उनीहरुले टिकट नपाउनु कारणमा एउटा गठबन्धनको भागबन्डा भएको देखिएकै हो । अर्कातिर टिकट नपाएका उनीहरुलाई अहिले घोषणापत्रको जिम्मेवारी दिइएको छ । दुई नेताहरुले एमाले र स्वतन्त्र पार्टीले उम्मेद्वार भए सघाउने भनेर राखेको प्रताव पनि अस्वीकार गरे । यो एकातिरबाट उनीहरुको निष्ठाको राजनीति झै पनि देखिएको छ ।
दुई नेतालाई चुनाव सम्पन्न भएपछि सरकारी निकायका प्रमुख जिम्मेवारी पनि दिने भनेर आश्वासन दिइएको पनि हुनसक्छ । स्वर्णीम र गोविन्दराज यसअघि पनि प्रमुख सरकारी निकायमा जिम्मेवारी पाएका व्यक्ति हुन् । उनीहरुलाई कुनै देशको राजदूतको जिम्मेवारी दिने भनेर पनि चित्त बुझाइएको हुनसक्छ । पार्टीले आश्वासन नै नदिए पनि पार्टीका बौद्धिक व्यक्ति भएकाले उच्च पदमा अवसर नपाउलान् भन्न सकिन्न ।
केशव भट्टराई
