काठमाडौं,१ पुष । नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्का उपसभापति निर्वाचित भएपछि कृष्णप्रसाद भट्टराई आश्रम ललितपुरको बाडेगाउँ पुगेर सालिकमा माल्यार्पणसहित पूजा गरेका छन् ।
कांग्रेस नेताहरु सहित उपसभापति खड्का भट्टराई आश्रम पुगेका थिए । खड्काले भट्टराईलाई आफ्नो राजनीतिको आदर्श गुरु मान्ने गरेका छन् । कुनै पनि राजनीतिक निर्णय लिनुपर्दा, राजनीतिमा सफलता पाएमा उनी सबैभन्दा पहिले बाडेगाउँ पुग्छन् ।
भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा पनि उनी नियमित रुपमा बाडेगाउँ जान्छन् । गत असारमा सर्वोच्च अदालतको आदेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि पनि उनी बाडेगाउँ पुगेका थिए ।
कांग्रेसको बिहीबार बिहान सम्पन्न मतगणनाबाट ६६ वर्षीय खड्काले २ हजार १ सय २१ मत ल्याएर उपसभापति निर्वाचित भएका थिए । अर्को उपसभापतिमा धनराज गुरुङ निर्वाचित भएका छन् ।
