• ट्रेण्डिङ्ग :
एमाले नयाँ नेतृत्वमा भूमिकाविहीन नेता, आन्तरिक कलह सुरु(सूचीसहित)

एमाले नयाँ नेतृत्वमा भूमिकाविहीन नेता, आन्तरिक कलह सुरु(सूचीसहित)


  • 6.0K
    SHARES
    • पौष २, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    एमाले नयाँ नेतृत्वमा भूमिकाविहीन नेता, आन्तरिक कलह सुरु(सूचीसहित)
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, २ पुस । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनभन्दा अगाडि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– चुनाव जितेर आउनेलाई पार्टीमा ‘इन्ट्री’, पराजित हुनेलाई ‘नो इन्ट्री’ । 

    images

    उनको यो भनाइ खासमा ‘नाङलो ठटाएर हात्ती तर्साउनु’ भने जस्तै मात्रै थियो । १०औं महाधिवेशनमा आफ्नाविरुद्धमा लाग्नेलाई कुनै पनि हालतमा रोक्न खोजेका अध्यक्ष ओली महाधिवेशनबाट आफैं नेतृत्वमा आउने तयारीमा थिए । मंसिर १० गते चितवनको नारायणी नदी किनारमा १०औं राष्ट्रिय महाधिवेशन भव्यरूपमा उदघाटन भयो । उदघाटनसत्रमा देखिएको खुशी कार्यकर्तामा बन्दसत्रमा देखिएन । 

    मध्यरातमा अध्यक्ष ओलीले आफूसहित पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्दै ताली बजाउन निर्देशन दिए । बन्द कोठाबाट अधिकांशको ताली बज्यो । त्यहीबीचमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता डा. भीम रावलले आपत्ति जनाए । अन्ततः चुनाव भयो । सबै ओलीले तयार पारेका लिष्ट अन्तर्गतका सदस्य निर्वाचित भए । 

    एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा बस्यो । दोस्रो बैठक भक्तपुरमा मंसिर २५ र २६ गते बस्यो । केन्द्रीय कमिटी बैठकले धेरै नेतालाई जिम्मेबारी बाँडफाट गर्ने अनुमान थियो । नयाँ–पुराना नेतालाई उनीहरूका हैसियत अनुसार जिम्मेबारी दिने अनुमान थियो । तर, पार्टी नेतृत्वले त्यसो गरेन ।

    जिम्मेबारीको आशामा रहेका नेताहरूलाई पाखा लगाउने काम भयो । यो घटनाले गर्दा एमालेमा आन्तरिक कलह बढ्ने संकेत देखिएको छ । एमालेभित्र ओली प्रवृत्ति समर्थनमात्रै होइन, विरोध गर्नेहरू पनि छन् । यसबाट ओलीलाई सकस हुने देखिएको    छ । एमालेभित्र १० बुदेँका समर्थक पनि भएकाले अध्यक्ष ओलीले आफूखुशी निर्णय गर्दा त्यसको ठूलो मूल्य चुकाउनु पर्ने देखिएको छ । 

    मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै जारी गरिएको एमालेको अन्तर पार्टी निर्देशन (अपानि) मा सबैको जिम्मेबारी तोकिएको छ । तर, त्यसमा नेताहरूबीच असन्तुष्टि बढ्दै गएको देखिन्छ ।

    जिम्मेबारी तोक्नेक्रममा उनले आफूसँग सबैभन्दा नजिक रहेकालाई मुख्य भूमिका दिएका छन् । प्रमुख भूमिका पाउनेहरू अधिकांश राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत निकट मानिन्छन् । पूर्व माओवादी पक्षधर नेतालाई पनि उनले महत्वपूर्ण जिम्मेबारी दिएर वरीयतामा माथि राखेका छन् । तर, पूर्व माधव नेपाल पक्षधरलाई भने उनले सक्रिय हुने जिम्मेबारी दिएका  छैनन् ।

    ओलीले आफ्नो जिम्मेबारी पार्टीको समग्र नेतृत्व गर्ने राखेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाएका छन् । पोखरेल ओलीभन्दा पनि राष्ट्रपति भण्डारीसँग निकट छन् । उपाध्यक्षहरूलाई संयोजनको जिम्मेबारी दिइएको छ ।

    युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजन गर्ने जिम्मेबारी दिइएको छ ।

    महासचिव शंकर पोखेरलले पार्टीको सांगठनिक कामको संयोजनको जिम्मेबारी पाएका छन् । पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेबारी पाउनेमा उपमहासचिव प्रदिप ज्ञवाली परेको छन् । प्रचार तथा प्रकाशन विभागको जिम्मेबारी पृथ्वी सुब्बा गुरूङले पाएका छन् । अर्का उपमहासचिव विष्णु रिमालले दुई वटा मुख्य जिम्मेबारी पाएका छन् । उनलाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको प्रमुख बनाइएको छ । रिमाल पनि राष्ट्रपति भण्डारी निकट मानिन्छन् ।

    पार्टी सचिव टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखको जिम्मेबारी पाएका छन् । यससँग सम्बद्ध संगठनको उनी इन्चार्ज बनेका छन् । अर्का सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको छ । सचिव गोकर्ण विष्ट उर्जा, जलस्रोत तथा सिंचाइ विभागको इन्चार्ज बनेका छन् । 

    अर्का सचिव योगेश भट्टराई स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख बनेका छन् । यस अघि उनी प्रचार प्रसार विभाग प्रमुख    थिए । अर्का सचिव छविलाल विश्वकर्माले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेबारी पाएका छन् । सचिव रघुवीर महासेठ प्रदेश २ को इन्चार्ज बनेका छन् भने पद्मा अर्याल गण्डकी प्रदेश इन्चार्ज ।

    पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको इन्चार्जको जिम्मेबारी स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाएका छन् । अधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि निकट मानिन्छन् । नवौं महाधिवेशपछि एमालेमा संगठन विभागको जिम्मेबारीमा विष्णु पौडेल थिए । 

    स्थायी कमिटी सदस्य देवराज घिमिरेले प्रदेश १ को इन्चार्जको जिम्मेबारी पाएका छन् । अर्का स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी बागमती इन्चार्ज बनेका छन् । स्थायी कमिटी सदस्य यमलाल कँडेल कर्णाली इन्चार्ज बनेका छन् । महत्वपूर्ण मानिने परराष्ट्र मामिला विभागको जिम्मेबारी राजन भट्टराईले पाएका छन् । स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे संसदीय विभागको प्रमुख बनेकी छन् । 

    यसपटक पार्टीको जिम्मेबारीमा सबैभन्दा बढी उपाध्यक्षलाई खुम्च्याइएको छ । उनीहरूलाई पार्टीका विभिन्न विभागको संयोजन गर्ने जिम्मेबारीमात्रै दिइएको छ । नेताहरूको जिम्मेबारी बाँडफाँटलाई हेर्दा नयाँ अनुहार देखिदैनन् । नयाँ आगन्तुक केन्द्रीय सदस्यहरूले ‘नेतृत्वमा आए’ पूरा गर्छु भनी गरेका प्रतिबद्धता अधुरै रहने देखिएको छ । यदि यसो भए एमालेमा आन्तरिक कलह बढ्ने निश्चितप्रायः छ ।

    लिष्ट,

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप