चितवन, २ मङ्सिर (रासस) : मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् ।
स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उनीहरुले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिए ।
चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्ने बताए । औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उनले सुझाव दिए
उनका अनुसार नेपालका १० देखि २० प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ । मधुमेहका बिरामी आफँै सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा खतिवडाले भने ‘खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ ।”
औषधि र इन्सुलिन लिइरहनुभएका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन उनले सुझाव दिए ।
मधुमेहका बिरामीले पनि सामान्य एकजना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने बताउँदै डा खतिवडाले भने, “खानामा कार्बाेहाइड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुख्यरुपमा सजिलै चिनी निस्किने खालको कार्बाेहाईड्रेड नभएको खाना खानुपर्छ । बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बाेहाइड्रेड भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ । कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन ।” मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिँदै उहाँले अन्य समयमा पनि थोरैथोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाउनुभयो ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा सुगरआवश्यक पर्ने बताउनुभयो । उहाँले मधुमेहका बिरामीको शरीरमा पनि सुगर चाहिने तर आवश्यकताभन्दा बढी हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘मधुमेहका बिरामीको शरीरलाई सुगर चाहिंदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन । सुगर भनेको शरीरका लागि इन्धन हो ।” सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उनले बताए ।
