रूपन्देही, ८ जेठ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापा नियुक्त भएका छन् । यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई नियुक्त गरेका हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका थापा बुटवल उपमहानगरपालिका ९ निवासी कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् । उनी नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । उनले बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थिए ।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापा पार्टी संस्थापननिकट हुन् । थापालाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।
