तेस्रो आँखा डेक्स,
काठमाडौं,४ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा आकांक्षी व्यवस्थापन हुन नसक्दा राष्ट्रिय सम्मेलन सर्ने संभावना देखिएको छ । मंसिर मसान्तसम्म भौगोलक र गैह्र भौगोलिक गरि १० प्रदेशमा अधिवेशन सक्नुपर्ने भनिएपनि अहिलेसम्म अधिकांस प्रदेशले नेतृत्व पाउन सकेका छैनन् । जसको असर राष्ट्रिय सम्मेलनमा देखिएने निश्चीत प्रायःभएको छ ।
एक सातामात्रै बाँकी रहदा प्रदेशकै नेतृत्व नटुंगिदा राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा सकस हुने नेताहरुको भनाई छ । एक नेताले भनेः प्रदेश अधिवेशनमा नेताहरुको व्यवस्थापन निकै सकस भएको छ, जसले राष्ट्रिय सम्मेलन प्रभावित हुने संकेत गर्छ ।
पछिल्लो समय केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्दै अधिकांस प्रदेशका नेताहरु रुष्ट देखिएका छन् । गत मङ्सिर २५ गते केन्द्रका अध्यक्ष दाहालले भर्चअल मार्फत सातै प्रदेश र गैह्र भौगोलिकमा प्रदेश अधिवेशन उदघाटन गरेका थिए । अधिकांस प्रदेशले अहिलेसम्म नेतृत्व पाउन सकेका छैनन् ।
यहि पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । राष्ट्रिय सम्मेलन आउन एक सातामात्रै बाँकी रहदा प्रदेशमा नेतृत्वको टुंगो लाग्न सकेको छैन । भने, केन्द्रले महाधिवेशन प्रतिनिधिको नामवली भोलीसम्म पठाइसक्न ताकेता गरेको छ ।
आज साझसम्म बाँकी प्रदेशमा अधिवेशन सम्पन्न नभए राष्ट्रिय सम्मेलनको मिति हेरफेर हुने विषयमा स्थायी समिति बैठक बोलाउने विषयमा नेताहरुबीच आन्तरिक छलफल सुरुभएको छ । महाधिवेशन प्रतिनिधिको नामवली केन्द्रमा आइपुगे स्थायी समिति बैठक बस्ने तयारी छ । एक नेताले भने तर, अहिलेसम्म प्रदेश नेतृत्वको टुंगो लाग्न सकेको छैन । जसले गर्दा स्थायी समिति नै अन्यौलमा परेको छ ।
प्रदेश १ मा कार्यसमिति चयन भए पनि अध्यक्ष सहितको पदाधिकारी चयन हुन सकेको छैन । प्रदेश २ मा बन्दसत्र सुरु भएकै छैन । बागमती र सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यसमिति चयन भए पनि अध्यक्षसहितको पदाधिकारी चयन भएको छैन ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष र कार्यसमिति सदस्य चयन भए पनि अन्य पदाधिकारी टुङ्गिएको छैन । प्रदेश नेतृत्वमा धेरै जनाको दाबेदारी हुँदा सर्वसम्मतिमा नेतृत्व चयनमा ढिलाइ भएको माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशको नेतृत्व चयन भोलीकालागि मिति तय गरिएको छ ।
यसैबीच, माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची सोमबारसम्म केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले महाधिवेशन प्रतिनिधिको नामवली पठाउन निर्देशन दिएको हो । हिजोनै प्रतिनिधिको नामवली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाईका कारण भोलीसम्म सबैलाई प्रतिनिधिको नाम पठाउन ताकेता गरिएको सचिवालयले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिको सूची नआउदा स्थायी समिति बैठक प्रभावित भएको छ । जसमा ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन । पालिकादेखि प्रदेश सम्मेलनसम्म अधिकतम सहमतिको प्रयास भएपनि नेतृत्व चयन हुन सकेको छैन । निर्वाचित कार्यसमितिले पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । निर्वाचित सदस्यले सकेसम्म सहमतीय निर्वाचन विधिमा र नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला रहेको छ ।
