- डिबी रावत / तेस्रो आँखा
काठमाडौं, ४ पुस । चितवनमा भएको नेकपा एमालेको १० औँ महाधिवेशनमा नेपालका एक दल बाहेक सबै दलहरुलाई निम्तो दिईयो । तर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निम्तो पाएन । नेकपा (एस) लाई किन निम्तो नदिईएको ? एमालेले स्पष्टै भन्यो ‘त्यो कुनै दल हैन, एउटा समूह मात्रै हो ।’
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरे । राष्ट्रिय राजनीतिमा सबै दलको ‘साझा धारणा’ निर्माण गर्न भन्दै बोलाईएको बैठकमा पनि एमाले सहभागी भएन । एमालेले यो बैठकमा सहभागी नहुनुको कारण पनि उही नेकपा (एस) कै सहभागीता थियो । नेकपा एसलाई दल नमान्ने भन्दै एमालेले उसलाई आमन्त्रण गरिएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले निर्णय लियो ।
त्यसो त, निर्वाचन आयोगबाट आधिकारीकता प्राप्त गरेको नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी संविधानतः राजनीतिक दल हो । तथापी एमालेले भने आफूसँगको विवादका कारण उसलाई राजनीतिक दल नै मानिरहेको छैन । यसलाई संविधान विपरितको कदम मानिन्छ । आधिकारीकता प्राप्त कुनै पनि राजनीतिक दललाई दल नै हैन भन्ने अधिकार एमालेसँग नरहेको संविधानविद डा. भिमार्जुन आचार्य बताउँछन् । ‘निर्वाचन आयोगमा दर्ता भैसकेर राजनीतिक दलको प्रमाणपत्र पाइसकेपछि उसलाई दल नै हैन भन्ने अधिकार कसैलाई पनि हुँदैन,’ आचार्यले भने ‘यो राजनीतिक संस्कार नै भएन नि ।’
तत्कालीन नेकपा भित्रको खटपटका दुइ खेमामा एकातर्फ केपी ओली समूह थियो भने इतरमा पुष्पकमल दाहाल, माधव कुमार नेपाल समूह रह्यो । दुइपक्षीय विवादका कारण तत्कालीन नेकपा खारेज भयो । सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गरिदिएपछि पनि एमाले भित्र ओली र नेपालबीचको ‘खटपट’ सल्टिएन । उत्कर्षमा पुगेको ओली नेपालबीचको विवादले पार्टी विभाजनको अवस्थामा ल्याईदियो ।
नेता नेपाल ओलीबाट अलग्गिए । छुट्टै दल एकीकृत नेकपा समाजवादी निर्माण गरे । नेकपा छँदै आफूसँग ‘निहु’ खोजेका नेपालले फरक दल निर्माण गरेपछि नेपाल ओलीको नजरमा नेताको सुचीमा परेनन् भने उनको दल पनि ओली सुचीमा परेन । नत ओली पक्षीय कुनै पनि नेताले समाजवादीलाई स्वीकार्नै तयार भयो । फलतः ओली नेतृत्वको एमाले नेपाल र उनको दललाई बहिस्कार गरेर अगाडी बढिरहेकै छ ।
तर प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको एमालेले समाजवादीलाई राजनीतिक दलका रुपमा नस्वीकार्नु संविधान विपरित भएको संविधानविद डा. आचार्य वताउँछन् । कुनै नेता विशेषसँगको व्यक्तिगत रिसिईवीका कारण कुनै राजनीतिक दललाई दल नै हैन भन्न नपाइने उनको भनाईछ । ‘एमाले प्रतिपक्ष दल हो, उसलाई संविधान विपरित जान मिल्दैन, संविधानको पालना गराउनका लागि प्रतिपक्षी दलका नाताले उसलाई बढी जिम्मेवारी रहन्छ,’ आचार्यले भने ‘तर उसले नै संविधान विपरित नेपालको कुनै राजनीतिक दललाई दल नै हैन भन्नु राम्रो भएन नि ।’ हरेक साना वा ठूला दलका आ(आफ्ना हैसियत हुने भन्दै उनले सबै राजनीतिक दलको अस्तित्वलाई अर्को दलले स्वीकार्नु पर्ने उनको भनाई छ । ‘कुनै पार्टीको एक नेतासँगको व्यक्तिगत रिसिईवीले उसको दललाई नै दल नदेख्ने त कहाँ हुन्छ ?’ आचार्यले भने ‘प्रतिस्पर्धा नै हो भने प्रतिस्पर्धा पो गर्नु पर्यो त, तर दललाई नै बहिस्कार गर्ने त कहाँ सुहाउँदो कुरा हुन्छ, त्यस्तो प्रतिस्पर्धा नै हो भने त चुनावमा हराए त भैगो नि ?’
यता, एमाले भित्रै आन्तरिक संघर्ष गरिरहेका एमाले नेता भीम रावलले पनि कुनै पनि राजनीतिक दललाई राजनीतक दल नै हैन भनेर बहिस्कारै गर्नु जायज नभएको आशय ब्यक्त गरे । आफू एमालेको अध्यक्षमा उम्मेदवार बनेका बेला आफ्नो चुनावी अजेण्डाबारे सुनाउँदै रावलले भने ‘मैले त अध्यक्षको निर्वाचनमा सबै बाम राजनीतिक दलहरुसंग सहकार्य गरेर अगाडी बढ्छु भनेकै थिएँ,मेरो धारणा त यसेबाट पनि बुझ्नुस् न ।’ तर अध्यक्ष ओली र उनी पक्षीय नेताहरुले समाजवादीलाई राजनीतिक दलनै नमान्नुको कारण उनीहरुलाई नै सोध्नु पर्ने वताए । ‘उहाँहरुले किन दलनै मान्नु भएन ? त्यो मलाई थाहा भएन,’ रावलले भने ‘कि त स्वयं अध्यक्षलाई नै थाहा होला, कित उहाँका प्रवक्ताहरुले यसको कारण भन्न सक्नु होला ।’
