गैंडाकोट, १० असार । गैंडाकोट नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १ अर्ब १ करोड ४२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । नगरले आइतवार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।
यसअघि गत शुक्रवारको सभामा आउँदो आवका लागि नगर प्रमुख मदनभक्त अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । आइतवारको नगर सभामा उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ ।

विनियोजित बजेटमध्ये चालुतर्फ रु ६२ करोड ५० लाख रहेको छ भने पुँजीगत खर्चतर्फ रु ३९ करोड ३८ लाख ५० हजार उल्लख छ । वित्तीय व्यवस्थातर्फ भने कुनै पनि रकम विनियोजन भएको छैन ।
यस्तै नगरसभाले गैंडाकोट स्वास्थ्य चौकीलाई ५ वेडको आधारभूत अस्पताल बनाउने । स्वास्थ्य बिमा, विपद् व्यवस्थापन, अत्यावश्यकीय औषधि तथा उपकरण आदि सञ्चालनको घोषणा गरेको छ । आगलागिको जोखिम न्यूनिकरण गर्न दमकल खरिद गर्ने तथा फोहर मैला स्रोतको प्रशोधन केन्द्र तथा वातावरणीय अध्यायन पार्कका लागि पनि बजेट विनियोजन गरेको छ ।
वडा नम्बर १० ११, १२,१३ १६ र १७ का नागरिकहरूलाई वन्यजन्तुको जोखिमबाट संरक्षण गर्न मेस जाली लगाउनको लागि १ करोड बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेट तथा कार्यक्रममा नगरवासीको विकासको आकांक्षालाई यथोचित सम्बोधन गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने तथा अन्तर्राष्ट्रिय घटनाक्रम र मूल्यवृद्धि बाट प्रभावित भएको नगरको विकास प्रक्रियालाई समेत माथि उठाउने गरी तर्जुमा गरिएको जनाइएको छ । उपप्रमुख कोइरालाले प्रस्तुत गर्नुभएको बजेटमा एकै साथ धेरै कार्यहरूको जिम्मेबारी वहन तथा जनताका आकांक्षा सम्बोधन तथा सिमित श्रोत र साधनका बीचमा सामन्जस्यता स्थापित गरी विकास कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्नको लागि जोड दिइने उल्लेख छ ।
प्रस्तुत बजेटमा आन्तरिक राजस्व तर्फ रु १६ करोड ३६ लाख ६० हजार आय अनुमान गरिएको छ भने नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदानमा रु १६ करोड ७ लाख प्राप्त हुने सिलिङ प्राप्त भएको जनाईएको छ । नेपाल सरकारबाट राजस्व बाँडफाँडतर्फ १२ करोड ९७ लाख २८ हजार रुपैयाँको सिलिङ प्राप्त भएको छ भने नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदानमा ९३ लाख र समपूरक अनुदानमा ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी सशर्त अनुदान तर्फ ३४ करोड ३० लाख प्राप्त हुने अनुमान रहेको छ । गण्डकी प्रदेश सरकारबाट समानीकरणमा रु दुई करोड ३१ लाख २ हजार, राजश्व बाँडफाँडमा एक करोड ७७ लाख ६० हजार, शसर्त पुँजीगत अनुदानतर्फ रु ५० लाख र समपुरक अनुदान तर्फ रु ५० लाख अनुदान प्राप्त हुने सिलिङ प्राप्त भएको जनाइएकोछ । यसैकारण चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा खर्च नभई संचित कोषमा फिर्त हुने रकम रु चार करोड ७० लाख अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षमा बजेट विनियोजन भई कार्यान्वयनको क्रममा रहेका आगामी वर्ष सम्पन्न हुने रु १० करोड ५० लाख बराबरका योजनाहरु रहने अनुमान गरिएको छ ।
भूमिलाल पौडेल
