रुपन्देही । तिनाउ नदीमा आएको बाढीले जल सतह खतराको तह पार गरेको छ ।
बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । तिनाउ नदीको जल सतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ ।
तिनाउ नदीले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ ।
तिनाउ लगायत रुपन्देहीका अन्य नदीहरूमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
जिल्लास्थित सुरक्षाका तीनै वटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।
