दाङ साहित्य प्रतिष्ठानमा रेग्मी परिवारद्वारा पाँच लाखको अक्षयकोष स्थापना

दाङ साहित्य प्रतिष्ठानमा रेग्मी परिवारद्वारा पाँच लाखको अक्षयकोष स्थापना


  • 3.3K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    दाङ साहित्य प्रतिष्ठानमा रेग्मी परिवारद्वारा पाँच लाखको अक्षयकोष स्थापना

    घोराही, २९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी रेग्मी परिवारले ऋषिराम रेग्मीको स्मृतिमा पाँच लाख रुपैयाको अक्षयकोष घोषणा गरेको छ । स्व. रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ लोकार्पणका अवसरमा रेग्मी परिवारले पुरस्कारका लागि अक्षयकोषको घोषणा गरेको हो । 

    images

    रेग्मीका जेष्ठ सुपुत्र बामदेव रेग्मी र कनिष्ठ सुपुत्र सन्तोष रेग्मी लगायत परिवारका सदस्यहरुले स्थापना गरेको पुरस्कार दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापना गरिएको छ । हरेक बर्ष रेग्मीको निधन भएको असार २९ गतेका दिन वितरण गर्ने गरेर साहित्यकारलाई पुरस्कार दिइनेछ । पुरस्कार वितरणका लागि कार्यविधि बनाइने प्रतिष्ठानले जनाएको छ । दाङ जिल्लामा स्थापना भएका मध्य यो सबैभन्दा ठूलो राशीको अक्षयकोषका रुपमा रहेको छ । 

    शुक्रबार घोराही १० फन भ्यालीमा आयोजना गरिएको कार्यक्रममा ऋषिराम रेग्मीको स्मृतिग्रन्थ र रेग्मीले रचना गरेका कविता र गीतको संग्रह विमोचन गरिएको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज शर्मा श्रीधरको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रेग्मीले साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको थियो । सो अवसरमा लोकार्पण गरिएको स्मृतिग्रन्थको चर्चा डा. हिमलाल पन्थीले गरेका थिए । 

    कार्यक्रममा डा. शिवकुमार आचार्य, प्रा. लेखनाथ आचार्य, रेग्मीका बालसखा धर्मबहादुर बैरागी, साहित्यकारहरु नवराज रजौरे, पुरुषोत्तम खनाल, पद्मप्रसाद शर्मा, जानका रेग्मी, कमलमणि देवकोटा, खगराज न्यौपाने, खुमानन्द अधिकारी, उत्तमकृष्ण मजगैया, लगायतले बोलेका थिए । 

    बलदेव रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन डिल्लीराज रेग्मीले गरेका थिए । सोही अवसरमा आदीकवी भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरिएको थियो । साहित्यकार कमलमणि देवकोटाले भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानका बारेमा बोलेका थिए । 

    १९९९ साल कात्तिकको लक्ष्मीपुजाका दिन जन्मेका ऋषिराम रेग्मीको निधन २०७७ साल असारको २९ गते भानु जयन्तीका दिन भएको थियो । स्नातकोत्तर सम्मको अध्ययन गरेका रेग्मी नेपाल संस्कृत विश्व विद्यालयमा लामो समय काम गरेका थिए । नेपाली र संस्कृत साहित्यमा राम्रो दख्खल राख्ने रेग्मी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष समेत थिए । उनका कृतिहरु प्रकाशित नभएको भए पनि दर्जनौ लेख रचना प्रकाशित छन् । उनको पहिलो कृतिका रुपमा कविता र गीत संग्रह प्रकाशित भएको छ । परिवारका सदस्यहरुका अनुसार उनले लेखेका पाण्डुलिपीहरु रहेका छन् ।
     
    रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थमा ५१ वटा लेख रचनाहरु रहेका छन् । उनले लेखेको भाषाशास्त्र र यसको विकास क्रम विषयको लेख पनि प्रकाशित छ । ऋषिरामले पुर्याएको योगदानको चर्चा स्मृतिग्रन्थमा गरिएको छ ।


    तेस्रो आँखा