दंगीशरण, ३१ असार । दंगीशरण गाउँपालिका वडा नं. २ मा अवस्थित माध्यमिक विद्यालय मधपुरले विद्यार्थीहरुलाई निशुल्क पोषाक वितरण गरेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि निशुल्क पोशाक वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झरेन्द्र केसीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी र वडा नं. २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीको बिशिष्ट आतिथ्यतामा पोशाक वितरण कार्यक्रम सम्पन्न गरिएको हो । पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सप्पन्नता र विपन्नताको समानान्तर रुप देखाउन पोशाक वितरण प्रभावकारी रहेको बताए । बदलिँदो समयानुकूल शिक्षक पनि प्रविधिमैत्री तवरले अगाडी बढ्नुको बिकल्प नरहेको बताए । शिक्षाको गुणस्तरको सवालमा माबि मधपुरले गत वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएता पनि यस बर्ष चित्त बुझ्दो नतिजा नआउनुको कारण खुलाउन विध्यालय परिवारलाइ निर्देशन दिए ।
यस्तै कार्यक्रममा बोल्दै वडा नं. २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि स्थानीय सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिमला कडेल, गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्य, पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष नन्दाराम खत्री, गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी लगायतले आआफ्नो भनाइ राखेका थिए । विधालयका शिक्षक खेमराज बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक निर्मला परियारले गरेका थिए ।
