दाङ ११ साउन/ इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शुल्क बढाउने तयारी गरेको छ । संस्थानका डीन प्रा।डा।शशीधर राम जोशीले २८ वर्षदेखि इन्जिनियरिङका लागि तोकिएको शुल्क परिवर्तन नभएकोले अहिले परिवर्तन गर्ने तयारी भएको बताए । उनले भने, ‘शुल्क समायोजन गर्ने तयारी भइरहेको हो । हाम्रो आईओई मा २०५२ सालमा कुल शुल्क तोकिएको थियो । त्यसमा अलिकति परिवर्तन गर्न खोजिएको हो ।’
उनका अनुसार शुल्क समायोजनको लागि सिफारिस समिति बनाएको र समितिले केन्द्रीय क्याम्पसका ५ वटै आंगिक क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गरेर कार्यन्वयन समितिमा पठाएको छ । साथै उक्त सिफारिस कार्यन्वयन समितिमा पुगेको र समितिले निर्णय गरेपछि मात्रै के कति शुल्क बढ्यो भन्न सकिने डीन जोशीले जानकारी दिए ।
उनका अनुसार २०५२ सालमा २ लाख ८० हजार र धरौटी ३५ हजार गरेर ३ लाख १५ हजार शुल्क रहेको छ । तर, पछिल्लो समय नयाँ शैक्षिक कार्यक्रमहरु एरो स्पेश इन्जिनियरिङ र केमिकल इन्जिनियरिङमा भने फरक शुल्क रहेको र त्यस बाहेकको कार्यक्रममा २०५२ सालदेखिको शुल्क कायम रहेको डीन जोशीको भनाइ छ । सरकारी क्याम्पस भए पनि नेपाल सरकारले कलेज चलाउनलाई आर्थिक सहयोग नभएको हुँदा संस्था चलाउनको लागि शुल्क समायोजन गर्नुपरेको डीन जोशी बताउँछन् ।
