देउखुरी, १३ साउन । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले शनिबार आयोजना गरेको शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्ती मगरले सो कुरा बताएका हुन् ।
पछिल्लो समय समाज अराजकतातर्फ गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले सकारात्मक सोचको विकास गर्न शिक्षकहरुको भूमिका महत्त्वपूर्ण रहने बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले शिक्षामा वैज्ञानिक समाजवादी शिक्षा नीति आवश्यक रहेको कुरामा जोड दिदै सोही अनुसार नीति तथा कानुन निर्माणमा आफूले आफ्नो स्थान बाट पहल गर्ने समेत बताए ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले शिक्षामा सुधार नल्याउदासम्म समाज र देशको परिवर्तन सम्भव नहुने तर्क गर्दै विद्यार्थीहरुलाई व्यावहारिक, रचनात्मक र संस्कारी शिक्षा प्रदान गर्न शिक्षकहरूलाई आग्रह गरे । 'पालिकाले संविधानमा उल्लेख भए बमोजिम माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरेको छ', उनले भने 'यसलाई सफल पार्न शिक्षक लगायत सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ।'

सो अवसरमा बोल्ने वक्ताहरूले शिक्षामा गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनु पर्ने कुरामा जोड दिदै शिक्षक कर्मचारीहरूको हितको लागि तत्काल सरकारले शिक्षा ऐन पास गर्नु पर्ने बताएका थिए । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ उपमहासचिव गणेश प्रसाद रिजाल, संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मधुसूदन पोख्रेल, केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज विष्णु प्रसाद खनाल, केन्द्रीय समिति सल्लाहकार हुकुम बहादुर बुढाथोकी, दाङ जिल्ला अध्यक्ष झक्कु प्रसाद केसी लगायतले आआफ्नो धारणा राखेका थिए ।
संगठनका राप्ती गाउँपालिका अध्यक्ष कृष्णबहादुर बुढा मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनका विभिन्न तहका एक सय भन्दा व्यक्तिहरुको उपस्थिति रहेको थियो । संगठनकी उपाध्यक्ष विष्णु कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संगठनका सचिव गोविन्द चौधरीले गरेका थिए ।
