घोराही, १५ साउन । घोराही उपमहानगरपालिका वडा नं. ७ स्थित माध्यमिक विद्यालय सौडियारले विद्यार्थीको कक्षा उन्नती गर्ने पद्धतिलाई सुधार गरेर लैजाने निर्णय गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले सिकाइ स्तर कमजोर रहेका विद्यार्थीलाई तल्लो कक्षाबाट माथिल्लो कक्षामा उन्नती गर्ने पद्धतिले सिकाइमा समस्या उत्पन्न गरेको निष्कर्ष निकाल्दै यो पद्धतिलाई थप सुधार गरेर लैजाने निर्णय गरेको हो ।
तल्लो कक्षामा जानेका कुराहरु कक्षा बढ्दै जाँदा ती कुराहरु सबै नजान्ने भएकाले सिकाइस्तर अत्यन्तै कमजोर रहेका विद्यार्थीलाई ध्यान दिंदै पठन पाठन सुधार गर्ने ब्यवस्थापन समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले न्युन विद्यार्थी हुँदा पनि सिकाइ स्तर सुधार गर्न नसकिएको भन्दै शिक्षण सिकाइ हुने कमजोरि पहिचान गरि समाधान गर्दै जाने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जिउधन चौधरीले बताए ।
यसैबीच आज विद्यालयले अंग्रेजी मिडियममा अध्ययन गर्ने विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विब्यस अध्यक्ष निशानदाजु भट्टराई र विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले नतिजा सार्बजनिक गरेका हुन । अंग्रेजी मिडियमा पढ्ने विद्यार्थीको प्रथम त्रैमासिक परीक्षाको नतिजा सामान्य सुधारन्मुख अवस्थामा रहेको भन्दै थप सुधारका लागि सामुहिक पहलको जरुरत रहेको विद्यालयले निष्कर्ष निकालेको छ ।
बिद्यालयले चालु शैक्षिक सत्रदेखि नै प्लेग्रुप देखि कक्षा ५ सम्म अंग्रेजी मिडियमको पढाइ सञ्चालन गर्दै आएको छ । आउने शैक्षिक सत्रमा अन्य तहमा पनि अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गर्ने विद्यालयले तयारी पनि गरेको छ ।
