- देवेन्द्र बस्नेत/तेस्रो आँखा
काठमाडौं, पुस ८ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेसको महामन्त्रीमा पराजित भएपछि मन्त्रीपदबाटै राजीनामा दिए । कुनै पनि निर्वाचनमा पराजित भएपछि सरकारमा बस्नु हुन्न भन्ने पुरानो राजनीतिक मूल्य र मान्यतालाई अनुसरण गरेका मिनेन्द्रको राजीनामा, राजीनामा मात्रै कि राजनीतिक ‘सन्यास’ पनि ? भन्ने प्रश्न उब्जिरहेका छन् ।
राजीनामा दिइसकेपछि उनी आफैले गरेको पत्रकार सम्मेलनमा पनि रिजालले आफू सक्रिय राजनीतिमा रहने वा नहरने भन्ने निक्र्योल गरिनसकेको बताएका थिए । आफ्नै पार्टी भित्रबाट आफू माथिको भएको एक खालको ‘दबाब’ वा ‘हेपाहा’ प्रवृत्ति खुलाएका रिजाल यसकारण पनि ‘दिग्दारी’मा परिसकेको प्रष्टै हुन्छ । उनले भनेका थिए ‘म मन्त्री भैरहेको भए त, मैले बनाएको मन्त्री हो भनेर मलाई ठाउँ ठाउँमा भनिने थियो, यो अपमानलाई मैले सहन सक्ने कुरै भएन ।’
निर्वाचनमा भोग्नु परेको पराजय अनि पार्टीकै नेताबाट लागेको यो आरोपले ‘ग्लानी’ महसुस गरिरहेका रिजाल अहिले पनि मौन छन्, यही मौनता ‘अझै’ चाहिरहेका छन् । अनिर्णित छन् मिनेन्द्र अब आफ्नो बाटो के भन्नेमा । अनि भन्छन् ‘अझै केही दिन विचार गर्नुछ ।’ तेस्रो आँखा सँगको टेलिफोनका क्रममा रिजालले आफू अझै निर्णयमा पुगिनसकेको बताए । उनले भने ‘म अहिले यही नै गर्छु भनेर भन्न सक्ने अवस्थामा छैन ।’ अबको बाटोका बारेमा केही सोच्नु भएको होला नि ? रिजालले जवाफ दिए ‘बाटो पहिल्याइसकेको छैन ।’
आफूले आगामी यात्रा ‘फिक्स’ गरिनसकेको दोहोर्याइरहेका रिजाल यस विषयमा खुल्नै मानेनन् । आफ्नो यात्राका बारेमा खुल्न अर्को हप्ताको अवधि लाग्ने उनले बताए । अर्थात रिजालले आफ्नो आगामी यात्राको टुंगो अर्को हप्ता मात्रै लगाउने छन् । ‘अर्को हप्ता म पुरै खुल्ने छु,अनि मैले के गर्ने भनेर आफ्नो बाटो क्लियर गर्ने छु,’ रिजालले भने ‘त्यो बेला तपाईसँग खुलेरै हासी हासी आफ्नो योजनाबारे सुनाउने छु ।’
नेपाली कांग्रेसको दोस्रो पुस्ताका वाैद्धिक नेताका रुपमा चिनिएका मिनेन्द्रको आउँदो हप्ता हुने निर्णयले कांग्रेसको अबको यात्रालाई समेत केकी न केही प्रभाव पार्ने छ । युवा जमातका एक सशक्त कांग्रेसी नेता रिजालको सक्रिय राजनीतिमा अनुपस्थिती भएमा एक सशक्त ‘संगठक’ को अभाव कांग्रेसले व्यहोर्नु पर्नेछ ।
