धनगढी । गएको सोमबारदेखि परेको अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजारौँ नगरवासी प्रभावित भएका छन् ।
नगर प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा जानुभएको छ । कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएको छ । यो क्रम बढ्दो छ । हामी तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ ।’ यसैबीच उनले उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको बताए । नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे ।
भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ ।


