अञ्जना चौधरी, तुलसीपुर २४ साउन/ संस्कार र सस्कृतिका हिसाबले धनि मानिन्छ, थारु समुदाय । त्यसमा पनि दाङ लगायत पश्चिम दाङका थारु महिलाहरु परम्परागत सीपमा दख्खल राख्छन् । तरपनि पछिल्लो समय थारु पहिचानसंग जोडिएको कास,मुजबाट बन्ने ढकिया, पन्छोप्नी, डेलुवा, भौका, पैनसटोपी लोप हुने अबस्थामा छ । नयाँ पुस्ताले काँसमुजबाट बन्ने सामग्री बनाउन तर्फ चासो नदिदा लोप हुने अबस्थामा पुगेको हो । तर, थारु महिलाहरुले बनाउने पराम्परागत सीप हराउन थालेपछि स्थानीय पालिकाहरुले थारु महिलाहरुले बुन्ने हस्तकलाको सीपलाई संरक्षण गर्न कार्यक्रम बनाउन थालेका छन् ।
थारु बाहुल्यता रहेको घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाले थारु महिलाहरुले कासँमुजबाट बनाउने ढकिया, पन्छोप्नी, डेलुवा लोप हुन थालेपछि सबै पालिकाहरुले नयाँ पुस्तालाई यो सीप सिकाउन थालेका हुन् । यसरी पालिकाहरुले नयाँ नयाँतरिकाले विभिन्न थरिका ढकिया, ढक्ली, फुलदानी, पुजाथाली, पैनसटोपी, डेलुवा लगायतका सामग्री बनाउँदै त्यही बेचेर राम्रो आम्दानी समेत गर्दै आएका छन् । घोराहीकी उर्मिला चौधरीले पछिल्लो समय काँसमुजबाट बन्ने सामग्री बनाएर त्यही सामग्री बेचेर राम्रो आम्दानी गर्दै आएको बताईन् । पहिले साधा ढकिया मात्रै बुन्ने उनी अहिले उपमहानगरपालिकाले सञ्चालन गरेको तालिममा सहभागी भएर विभिन्न किसिमका फुलदानी, पुजाथाली, लगायतका नयाँ नयाँ बुट्टादार ढकिया, ढक्ली बुन्ने गरेको बताइन् । अहिले उक्त सामग्री बेचेर घरखर्च चलाउँदै आएको चौधरीको भनाई छ । कुनै महिनामा त मासिक ५० हजारसम्म ढकिया, ढक्ली बेचेर आम्दानी गरेको उनको भनाई छ ।
पालिकाहरुले बजेट नै छुट्याएर ढकिया बुन्ने तालिम दिन थालेपछि थारु महिला लगायत गैर थारु महिलाहरु पनि ढकिया, पन्छोप्नी, डेलुवा बनाउने तालिममा सहभागी हुन थालेका छन् । गढवा गाउँपालिकाले सञ्चालन गरेको ढकिया बुनाई तालिममा सहभागी भएकी मिरा यादवले पनि पछिल्लो समयमा ढकिया, फुलदानीहरु बेचेर राम्रो आम्दानी गर्दै आएकी छिन् । पहिले अरुले बुनेको ढकिया किन्ने यादव पछिल्लो समय आफै ढकिया बुनेर आम्दानी गर्दै आएको बताईन् ।
ढकिया बुनाई तालिममा युवतिहरुको आर्कषण पनि उत्तिकै छ । पहिले पहिले हजुरआमा आमाहरुले ढकिया बुनेको देख्ने गरेका युवतिहरुले पालिकाले तालिम सञ्चालन गरेपछि उक्त तालिममा सक्रिय सहभागी भएर काँसमुजबाट बन्ने सामग्री बनाउन सिपालु भएका छन् । घोराही निवासी बिष्णू कुमारी चौधरीले पनि आमा हजुरआमाहरुले बुनेको देख्दा अली अली ढकिया बुन्न सिकेकी उनी तालिम लिएसंगै थरी थरीका ढकिया बुन्न थालेकी छिन् ।
दाङका केही पालिकाहरुले ढकिया बुन्ने तालिम सञ्चालन गर्नको लागि वार्षिक रुपमा बजेट छुट्याउँदै आएका छन् । थारु महिलाहरुको हस्तकला लोप हुने अवस्थामा पुग्न थालेपछि आफुहरुले काँसमुजबाट बन्ने सामग्री बनाउने तालिम पहिलो प्राथमिकतामा राखेर सञ्चालन गरेको ढकिया गढवा गाउँपालिका अध्यक्ष याम नारायण शर्माले बताए ।
पुजाआजाको होस् या शुभकार्यको लागि प्रयोग गरिने, विवाहमा दाईजो तथा मृत्युवरणको बेला दानको रुपमा ढकिया दिने थारु समुदायमा चलन रहेको छ । साथै दाङलगायत पश्चिम क्षेत्रमा हुने कुनै औपाचारीक कार्यक्रम भएमा पनि स्वागतका लागि प्रयोग गरिने गरिएको छ, भने अतिथिहरुलाई उपहारका रुपमा दिने चलन पनि रहदै आएको संस्कृतिविद अशोक थारुको भनाई छ । थारु महिलाहरु आदिम अवस्थाबाट सभ्यताको यूगमा प्रवेश गर्न थाले पछि त्यो बेला प्राकृतिक सा्रेत र साधनको प्रयोग गरेर दैनिक आवस्यकताको पूर्तिको लागि हस्तकला मार्फत बस्तु निर्माण गर्ने ज्ञान र सीपको विकास भएको संस्कृतिविद थारुको भनाई छ ।
पालिकाहरुले ढकिया बुनाई तालिम सञ्चालन गर्नु प्रसंसनीय विषय भएको बताउँदै थारुले ढकिया बुन्नुमा थारुहरुको लोकदर्शन के हो भनेर पालिकाहरुले आफै अध्ययन गरेर त्यसपछि मात्रै तालिम सञ्चालन गर्दा राम्रो हुने सुझाव दिए ।
तर यसरी तालिम सञ्चालन गरेपनि ढकिया लगायत सामग्री बनाउनको लागि संस्कार,संस्कृतिलाई जीवन्त राख्नु युवा पुस्ताको दायित्व हो । त्यसैले स्थानीय सरकारले थारु हस्तनीर्मित बनाउनको लागि पालिकाहरुले चासो देखाउनु सकारात्मक कुरा हो । तर यो संगै ढकिया बुन्न चाहिने आवश्यक सामग्रीको व्यवस्था गर्नु र बजारीकरणमा समेत ध्यान दिन जरुरी छ ।

