प्युठान ३२ साउन/ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहका काम गर्नुपर्ने बताएकी छिन् । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै सम्भव हुने भएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उनले बताइन् ।
प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूसँगको भेटघाटमा उहाँले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताइन् ।
आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उनले स्पष्ट गरिन् । पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुने भएकाले सरकारले पनि तल्लो तहका बसेर काम गर्ने कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्ने नीति लिएको उनले बताइन् ।
केही दिनअघि भएको नेपाल सरकारको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रधानमन्त्रीको सम्बोधनलाई मार्गदर्शनको रुपमा लिएर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सहयोग पुग्ने गरी हरेक निकायले कार्ययोजना बनाउनुपर्ने पनि मन्त्री शर्माले स्पष्ट गरिन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वबिचमा राम्रो बुझाइ र समझदारी आवश्यक रहेको पनि बताइन् ।
नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबिच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उहनले यो असमझदारी हटाउनै पर्ने बताइन् ।
यसैबीच मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको उल्लेख गर्दै घरभित्रकै मान्छे भए पनि नछाडिने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार सुरुदेखि नै विकृति,विसङ्गति अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्मम ढङ्गले अगाडि बढेको बताइन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारमा मै परेपनी मेरो घरकै मान्छे संलग्न भएपनि नछाड्ने बताएको जानकारी दिँदै मन्त्री शर्माले सुन तस्करी, ललिता निवास,भुटानी शरणार्थीलगायत सबै प्रकरणलाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
सुशासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाइन् । संविधान र कानुनको मातहतमा सबै रहेकोले गल्ती गर्ने जो सुकैलाई पनि नछोड्ने गरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको उनले बताइन् ।
