काठमाडौं, २ भदौ । नेपाल प्रहरीले एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी र एमडी अध्ययनको तयारी गरेकी काठमाडौंकी २९ वर्षीया एरिना शाह छन् । यस्तै ईशान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौंकी २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर पनि पक्राउ परेका हुन् ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक योग्यतामा अंक वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको जानकारी दिए । प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो । पक्राउ परेका सातैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।
