काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । आइतबार दिउसो १ बजे प्रज्ञा भवनमा माओावादी केन्द्रको राष्ट्रिय महाधिवेशन सुरु हुने छ।
यसअघि राष्ट्रिय सम्मेलन भनेको माअोवादीले शनिबार बसेको स्थायी कमिटीको बैठकबाट निर्णय गरी महाधिवेशनमा परिणत गरेको हो। तर, यसलाई कुन महाधिवेशन भन्ने भनेर निर्णय भएको छैन । माओवादीले २०६९ सालमा हेटौंडामा सातौं महाधिवेशन गरेको थियो।
महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौं आइसकेको माओवादी केन्द्रले जनाएको छ। जसमा एक हजार चार सय ८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात एक सय ४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन्।
आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।
महाधिवेशनले अध्यक्षमा प्रचण्डको नेतृत्व नवीकरण गर्नेदेखि पदाधिकारी चयन गर्नेछ। महाधिवेशन सुरु हुनुअघि आज विहान माओवादीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
