काठमाडाैं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजीवादी क्रान्ति सकिएको र समाजवादी क्रान्तिको लागि तयार हुने बेला आएको बताएका छन्। पार्टीको राष्ट्रिय महाधिवेशनको पूर्वाधमा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको जन्म जयन्तिको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि पार्टीेले महाधिवेशन गर्न लागेको बताएका छन्।
‘मालेमावादी विश्वदृष्टिकोणको आलोकमा हाम्रो पार्टीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको छ।’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ।’
२६ डिसेम्बर १८९३ मा जन्मिएका माओलाई चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता भन्दै प्रचण्डले माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको बताएका छन्।
उनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलूकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले महत्वपूर्ण योगदान दिएको बताएका छन्।
‘समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ’, विज्ञप्तिमा भनिएको छ।

