दाङ १८ भदौ/ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा जग्गा फुकुवाको माग राख्दै स्थानीय बासिन्दाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना दिएका छन् ।
जग्गा फुकुवा संघर्ष समितिले लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय रहेको राजधानी परिसर प्रवेशद्वार अगाडि सोमबार प्रदर्शन र २ घण्टा धर्ना दिएको हो । २०७७ असोज २० मा लुम्बिनी प्रदेशसभाले देउखुरीलाई लुम्बिनीको राजधानी तोकेपछि अव्यवस्थित शहरीकरण हुन सक्ने भन्दै प्रदेश सरकारले राप्ती उपत्यका क्षेत्रको जग्गा बिक्री वितरणमा रोक लगाएको थियो ।
प्रदेश सरकारले दाङको राप्ती गाउँपालिकासहित गढवा गाउँपालिकाका– १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेच रोक्का लगाएको थियो । तर जग्गा रोक्का गरेको तीन वर्षसम्म फुकुवा नहुँदा समस्यामा परेको भन्दै संघर्ष समितिले आन्दोलन चर्काएको हो ।
जग्गा फुकुवाका लागि पटक पटक माग गर्दा पनि प्रदेश सरकारले वास्ता नगरेपछि सडकमा उत्रिनुपरेको संघर्ष समितिका अध्यक्ष सुरज खड्काले बताए । उनले प्रदेश सरकारले जेठभित्रै जग्गा फुकुवा गर्ने आश्वासन दिए पनि अहिलेसम्म जग्गा फुकुवाको नगरेपछि आन्दोलन गर्नुपरेको बताए । उनले तत्काल माग पूरा नभए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी दिए ।
