काठमाडौं, ११ पुस । सरकारले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा रणनीति र योजना तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सदस्यका लागि आगामी माघ १२ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । ५ वर्षे कार्यकाल सकिन लागेपछि आगामी २०७९ वैशाख १४ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ । दुवै निर्वाचन नजिकिएसँगै गृह मन्त्रालय सुरक्षा व्यवस्थापनसम्बन्धी आन्तरिक छलफलमा जुटेको हो ।
गृहले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका लागि छुट्टाछुट्टै सुरक्षा कार्ययोजना बनाएर पेश गर्न भनेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीप कुमार कोइरालाले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन सुरक्षा व्यवस्थापन गर्ने विषयमा सुरक्षा बैठक केन्द्रीत भएको र त्यस क्रममा स्थानीय तहको निर्वाचन सुरक्षाबारे पनि समीक्षा भएको बताए ।
बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए । छलफलका क्रममा गृहमन्त्री खाँणले सुरक्षित र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न हुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए ।
