दाङ २९ भदौ/ शान्तिनगर गाउँपालिकाकी नाम परिवर्तन अस्मी १८ वर्षको भइन् । उनी अविवाहित हुन् । स्कुल पढ्ने बेलामा उनको कक्षामा सँगै पढ्ने केटा साथीसँग प्रेम भयो । नौ कक्षामा पढ्दै गर्दा उनको प्रेम बस्यो । प्रेम सम्बन्धमा रहेको दुई वर्षमा उनीहरूको शारीरिक सम्बन्ध भएन तर विस्तारै उनीहरू प्रेममा नजिक भएपछि उनको अनिच्छित गर्भ बस्यो ।
‘मैले मेरो महिनाबारी भएको कुरा केटा साथीलाई सुनाए’ उनले भनिन्– ‘केटा साथीले गर्भपतन गर्ने कुरा गर्नुभयो अनि हामी दुबैको सल्लाहमा स्वास्थ्य संस्थामा जाने सोंच बन्यो ।’ तर स्वास्थ्य संस्थामा जाँदा उनले सोचेको जस्तो सहज थिएन किनकी सबै चिनेजानेका नै थिए । त्यही भएर उनी प्राइभेट क्लिनिकमा गएर औषधि किनेर खाइन् ।
स्वास्थ्यकर्मीको सल्लाहबिनै औषधी खादा उनको स्वास्थ्यमा समस्या देखियो र उमेरले पनि सानो भएकोले उनको धेरै रगत बग्न सुरू भयो । लगातार १०/१५ दिनसम्म रगत बग्न नरोकिएपछि उनले आमालाई सबै कुरा बताइन् । त्यसपश्चात् उनी आमासँग जिल्ला बाहिर गएर सेवा लिइन् । तुलसीपुर–१२ की नाम परिवर्तन अनु पनि अविवाहित नै हुन् । उनी ८ कक्षासम्म मात्रै पढिन् । घरमा आर्थिक समस्याले गर्दा पढाइलाई निरन्तरता दिन नसकेको उनी बताउँछिन् । उनले पढाइ छोडेर घरमा दैनिक ज्याला मजदुरी काम गर्न थालिन् । सँगै ज्याला मजदुरी गर्नेसँग उनको प्रेम भयो । काम गर्ने बेलामा कोठा भाडामा बस्नुपर्ने भयो र उनीहरू सँगै बस्न थाले ।
उनको महिनाबारी समयमा हुँदैन थियो । डेढ महिनासम्म पनि महिनाबारी नभएपछि उनले सँगै काम गर्ने एकजना दिदीसँग कुरा राखिन । त्यसपछि उनलाई स्वास्थ संस्थामा गएर चेक गर्ने सुझाव आयोे । त्यही अनुसार उनी स्वास्थ्य संस्थामा गइन् । उनी अविवाहित भएकै कारण अनेक थरीका कुराहरू सोधियो । त्यसको जवाफ उनीसँग थिएन र उनी फर्किएर आइन् ।
उनको त्यसपछिको बाटो भनेको प्राइभेट अस्पतालमा नै भयो । ‘गर्भपतन महिलाको अधिकारको कुरा हो, तर सहजरूपमा हामीले सेवा पाउदैनौँ’ उनले भनिन्– ‘त्यही भएर पनि धेरै पैसा तिरेर प्राइभेट अस्पतालमा गएर सेवा लिनुपर्छ ।’ यी दुई व्यक्ति त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । यस्तो समस्यामा धेरै व्यक्तिहरू पर्ने गरेको छ ।
स्वास्थ्य संस्थामा सहजरूपमा सेवा नपाउँदा असुरक्षित बाटो पनि रोज्ने गरेको देखिएको छ । जसले गर्दा सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्याभन्दा असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै रहेको छ । सन् २०१४ मा एक संस्थाले तयार पारेको तथ्यांकअनुसार नेपालमा वर्ष दिनमा ३ लाख २३ हजार जनाले गर्भपतन सेवा लिन्छन् । जसमा ५८ प्रतिशतले असुरक्षित रूपमा गर्भपतन सेवा लिन्छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराएमा गर्भवती महिलाको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी इजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जिवाणु ९एआईभी० वा निको नहुने रोग लागेको अवस्थामा र भु्रणमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भु्रणमा अशक्तता हुने अवस्थामा स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।
दाङमा तीन वर्षको अवधिमा झण्डै सात हजारले सुरक्षित गर्भपतन सेवा लिएका छन्् । आर्थिक वर्ष ०७७/०७८ देखि बितेको आर्थिक वर्षसम्ममा दाङमा ६ हजार ६ सय ९७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा २ हजार ३ सय ४६ जना, ०७८/०७९ मा २ हजार २ सय ६२ र आर्थिक वर्ष ०७९/०८० मा २ हजार ८९ जनाले गर्भपतन सेवा लिएका छन् ।
गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका पनि रहेको तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा सात सय ५५ जना २० वर्ष मुनिका व्यक्तिले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कानुनले २० वर्षमुनिको विवाहलाई मान्यता नदिए पनि अस्पतालमा गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका व्यक्ति पनि देखिएको छ ।
स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/०७८ मा २ सय ९३ जना, आर्थिक वर्ष ०७८/०७९ मा २ सय ७७ र गत आर्थिक वर्ष ०७९/०८० मा १ सय ८५ जना २० वर्ष मुनिकाले गर्भपतन सेवा लिएका छन् ।
बितेको तीन वर्षको अवधिमा औषधिद्वारा ४ सयजनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय दाङका तथ्यांक अधिकृत मेघराज पौडेलले जानकारी दिए । उनका अनुसार औषधिद्वारा आर्थिक वर्ष ०७७र०७८ मा एक सय ३२, आर्थिक वर्ष ०७८/०७९ मा एक सय ६६ र आर्थिक वर्ष ०७९/०८० मा १ सय २ जनाले सुरक्षित गर्भपतन गराएका हुन् ।
त्यसैगरी २० वर्ष मुनिकै औजारद्वारा ३ सय ५५ जनाले गर्भपतन गराएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा १ सय ६१, आर्थिक वर्ष ०७८/०७९ मा १ सय ११ र आर्थिक वर्ष ०७९/०८० मा ८३ जनाले सुरक्षित गर्भपतन गराएका हुन् ।
२० वर्षभन्दा माथिका कति ?
तीन वर्षको अवधिमा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट २० वर्षमाथिका ५ हजार ९ सय बढीले गर्भपतन सेवा लिएका हुन् । स्वास्थ्य कार्यालय दाङका अनुसार २० वर्षमाथिका आर्थिक वर्ष ०७७/०७८ मा २ हजार ५३, ०७८/०७९ मा १ हजार ९ सय ८५ र आर्थिक वर्ष ०७९/०८० मा एक हजार ९ सय ४ गरी ५ हजार ९ सय ४२ जनाले गर्भपतन सेवा लिएका छन् ।
जसमा औषधिद्वारा तीन वर्षको अवधिमा ३ हजार बढीले सेवा लिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार १ सय ७२, ०७८/०७९ मा ९ सय ६४ र आर्थिक वर्ष ०७९/०८० मा १ हजार १७ जना गरी ३ हजार १ सय ५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांकले देखाएको छ ।
त्यसैगरी औजारद्वारा २ हजार बढीले सेवा लिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा ८ सय ८१, ०७८/०७९ मा १ हजार २१ र ०७९/०८० मा ८ सय ८७ जना गरी २ हजार ७ सय ८९ जनाले गर्भपतन सेवा लिएका हुन् ।
दाङमा सुरक्षित गर्भपतनको लागि १५ वटा मात्रै सूचीकृत स्वास्थ्य संस्था रहेका छन् । सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांकमात्रै राख्ने गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताए । उनका अनुसार निजी अस्पतालमा भएका गर्भपतनको तथ्यांक स्वास्थ्य कार्यालयमा राख्ने गरिएको छैन् ।
