काठमाडौं, १२ पुस । आन्तरिक विवादका कारण तोकिएकै मितिमा अधिवेशन हुन नसकेपछि स्थगित भएको कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत १६ जिल्लाको अधिवेशन पुस अन्तिममा हुने भएको छ ।
गत मंसिर १६ गते कांग्रेस केन्द्रीय निर्वाचन समितिले तोकिएकै मितिमा अधिवेशन नभएको भन्दै चितवन, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बाँके, कैलाली, अछाम र प्रदेश २ का ८ जिल्लाको अधिवेशन स्थगित गरेको थियो ।
केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गते सबै जिल्लामा एकैदिन अधिवेशन गर्ने निर्णय गरेको हो । १६ जिल्लामा २७ गते एकै साथ अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताए ।
महाधिवेशन अघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । चितवन जिल्लाको अधिवेशन एमालेको १० औं महाधिवेशनका कारण रोकिएको थियो, भने अन्य जिल्लामा प्रतिनिधि विवादका कारण जिल्लाको अधिवेशन रोकिएको थियो ।

