तुलसीपुर, १२ असोज । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिश बोर्डिङ स्कुलमा आज मुटु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढ्दै गएको सामाजिक संजालको प्रयोगका कारण मानिसहरु एकोहोरो हुने र सामाजिक संजालमै व्यस्त रहने भएकाले विद्यार्थीहरुले पनि यही कुरालाई आत्मसात गर्दै गइरहेको बेला विद्यार्थीहरुलाई विद्यालयमै यस्तो सचेतनाका कार्यक्रम गर्न आवश्यक ठानेर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रशिक्षक डाक्टर शैलेश उपाध्यायले पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको डाक्टर शैलेश उपाध्यायले बताए । उनले जाँड, रक्सी, सुर्ती, चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिने बताए ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय शारीरिक कामहरु नगर्ने, विलासी जीवन बिताउन चाहने कारणले गर्दा मुटु रोगीका बिरामीहरु बढिरहेकाले खानपानमा विशेष ख्याल गर्न आग्रह गरेका थिए । उनीहरुले मानसिक तनाव नलिन पनि आग्रह गरेका थिए । विद्यायलका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाँले गरेका थिए ।
