दाङ, २३ असोज । लमहीमा बहुला कुकुरको टोकाइबाट १० जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाइबाट १० जना घाइते भएका हुन ।
लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ को भोजलाल चौधरी, सोही ठाउँका बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष ४२ को मखिलाल चौधरी, बर्ष ५५ की शान्ती चौधरी, बर्ष ५५ की जानकी चौधरी, बर्ष ८ की सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ को रेवती यादव घाइते भएका छन ।
त्यस्तै बिद्यालय जाँदै गरेका विद्यार्थी बन्गै निवासी बर्ष १३ की बिष्णु चौधरी र बर्ष ९ की अनुस्का चौधरीलाई टोक्दा उनीहरु पनि घाइते भएका छन । घाइतेहरु सबैको लमही अस्पतालमा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
बहुला कुकुरको टोकाइबाट स्थानीय त्रसित बनेका छन । खासगरी कमानपुर, बन्गै र हसनापुर गाउँका स्थानीय त्रसित भएका हुन । घटना निम्त्याउने कुकुरलाई स्थानीयले मारिसकेका छन । तर अन्य कुकुर पनि बहुलाएको हुन सक्ने भएकाले स्थानीय त्रसित बनेको समाजसेवी राजु पुनले बताए । ‘सम्बन्धित कुकुरले अरु कुकुरलाई टोकेको हुन सक्छ, जसले गर्दा अन्य कुकुर बहुलाउने अवस्था आउन सक्छ ।’ समाजसेवी पुनले भने ‘यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’
बहुला कुकुरको बिगबिगी बढ्ने संकेत देखिएपछि वडाध्यक्ष मोहन गिरीले सबैलाई सचेत हुन आग्रह गरेका छन । अन्य कुकुरको ब्यवस्थापन तथा उपचारका लागि आफू लागि परेको र जसका लागि पशु स्वास्थ्य शाखामा जानकारी गराइसकेको बताए ।
उता पशु स्वास्थ्य शाखा लमही नगरका प्रमुख शिबराज न्यौपानेले अन्य कुकुरको ब्यवस्थापनका लागि छलफल भइरहेको बताए । जसका लागि कुकुर बल्झाउने जाली आवस्यक पर्ने र उक्त जाली नभएका कारण केही समय लाग्न सक्ने बताए । ‘हामी ब्यबस्थापनमा लागेका छौ, त्यसको लागि बल्झाउने जाली चाहिन्छ ।’ प्रमुख न्यौपानेले भने ‘हामी सामाग्री मगाउँछौ अनि ब्यवस्थापन गर्छौ ।’
