काठमाडौं, ४ कात्तिक । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ । मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपाल सेमिफाइनल जित्दै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली यू–१९ एसिया कपमा छनोट हुनेछ ।
अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू–१९ एसिया कपमा छनोट हुनेछन् । यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू–१९ एसिया कप पुग्ने अवसर हुनेछ ।
सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू–१९ एसिया कपमा पुग्नेछ । नेपालका कप्तान देव खनालले पहिले ब्याटिङ गर्दा २८० देखि ३०० रन बनाउन प्रयास गर्ने र त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताए ।
