काठमाडौं, ४ कात्तिक । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।
एसिया कपको छनोटका रुपमा रहेको यू–१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।
खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए ।भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन । र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।
