- जीवन शर्मा
पछिल्लो डेढ महिनादेखिकाठमाण्डौ–चितवन लगायत शहरमा राजनीतिक मेलाको ठुलै चहल पहल चलिरहेको छ । नेपाली राजनीतिको मियो नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको महाधिवेशनले व्यस्त राखेको राष्ट्रिय राजनीतिमा पार्टीभित्रको आन्तरिक जोड घटाउ र आसन भाषण बाहेक खसै उल्लेख्य परिवर्तन भएन । महाधिवेन भन्नासाथ नेतृत्व चयन, राजनीतिक सांगठनीक एजेण्डा र भावि कार्यदिशाको विषयमा छलफल भने स्वभाविक हुनेनै भए ।
तर माहाधिवेशनकै पेरीफेरीमा यतिसम्म चै भयो की एमालेको चितवन महाधिवेशमा शुभकामना दिनेक्रममा राप्रपाका अध्यक्ष कमल थापाले लिपुलेक लिम्पीयाधुरा समेटेको चुच्चे नक्सा र तराई आन्दोलन संग जोडेर एमाले अध्यक्ष केपी ओलीको निकै प्रशंशा गरेकै कारण पार्टी अध्यक्षबाट हात धुनुपर्यो ।
उनको त्यो प्रसंसा सामान्य नागरिकलाई चित्तबुझ्दो थिएन ।थापाओलीको दुइ दुइ पटक संसद विघटन देखि पार्टी फुटाउनकै लागि ल्याइएका अध्यादेश, सांसद अपहरण, ठुल ठुला भ्रष्टाचारका घटनाहरुलाई लुकाएर गरिएका हावादारी प्रसंशाको शिकार हुन पुगे । राप्रपामा नेतृत्व नै परिवर्तन भएपनि कांग्रेस र एमालेमा त्यो हुन सकेन । यता माओवादी केन्द्रमा समेत नेतृत्व परिवर्तनको छाँट देखिदैन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई त महाधिवेशन उत्घाटन समारोहमै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीको इतिहास मेटाउने गरी गरिएको प्रशंसा नै काफी छ । माओवादीमा प्रचण्डको विकल्प पार्टीमा अझै खोजिदैन भन्ने प्रष्ट भएको छ । देउवा र ओलीले त आफै घिटीघिटी रहुन्जेलसम्म पार्टी नेतृत्व हस्तान्तरण गर्ने कुरै भएन् ।
एउटा पुस्ताका नेताहरु मिल्नु असोभनिय हैन तर एउटा राष्ट्रिय नेताले सार्वजनिक ठाउमा बोलेको कुराले निकै ठुलो अर्थ राख्छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन उत्घाटन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्त गरेका अभिव्यक्तिले नागरिकको मन छचल्कीएको छ । माओवादी अध्यक्ष प्रचण्डको प्रशंसामै अधिक समय खर्चिएका देउवाले आफ्नै पार्टीको इतिहास र आफ्नै पार्टीका अग्रज नेताहरूको अवमूल्यन गर्न बाँकी राखेनन् ।
“कांग्रेसकै नेतृत्वमा शान्ति र संविधामन कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान” यो नारा नारामा मात्र सिमित थिएन । आज पनि कांग्रेसको एउटा मूल नारा यही हो । इतिहास साक्षि छ कि नेपालमा संविधानसभा बाट संविधान लेख्नु पर्छ भन्ने एजेण्डा सर्वप्रथम नेपाली कांग्रेसले उठाएको थियो । आज सभापति देउवाले त्यो इतिहास भुलेकारहेछन । २००७ सालको जनक्रान्तिमै कांग्रेसले जनताद्वारा निर्वाचित प्रतिनिधिले संविधान लेख्नुपर्ने माग गरेको थियो । प्रजातन्त्र स्थापनाको घोषणामै तत्कालीन राजा त्रिभुवनले नेपालको शासन अबउप्रान्त जनताबाट निर्वाचित सभाले तय गरेको विधानअनुसार हुने घोषणा गरेका थिए ।
समयक्रममा संविधानसभाको मुद्दा ओझेलमा प¥यो । त्रिभुवनको निधनपछि तत्कालीन राजा महेन्द्रले संसदीय निर्वाचन घोषणा गरे । कांग्रेसले संविधानसभाको माग थाती राखेर पहिलो आमनिर्वाचनमा भाग लियो । त्यसयता संविधानसभा नभएर प्रजातन्त्र पुनःस्थापनाका लागि राजनीतिक लडाइँ लड्नुपर्ने वाध्यात्मक अवस्थामा कांग्रेस पुग्यो ।
२०५२ सालमा यीनै देउवा प्रधानमन्त्री थिए, जुनबेला माओवादीले ४० बुँदे माग राख्दै सशस्त्र आन्दोलन सुरु गरेको थियो । द्वन्द्वकालमा देउवाकै सवारीलाई लक्षित गरेर माओवादीले एम्बुस विस्फोट गराएको र उनले पनि माओवादी नेताविरुद्ध रेडकर्नर नोटिस जारी गरेर ‘टाउकोको मूल्य’ तोकेका इतिहास आज देउवालाई यादछ की छैन्? थाहा भएन । तर उनले इतिहास बङ्याए भने भावि पुस्ताले धिक्कार्नेछन् ।
माओवादीको मञ्चमा देउवाको अभिव्यक्तिले वीपी कोइराला, गिरीजाप्रसाद कोइराला र सुशिल कोइरालाको इतिहास र योगदानमाथि नै प्रश्न उठाएको छ । प्रचण्डको प्रशंसा गर्ने नाममा आफ्नै इतिहासमाथि प्रहार गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुहो । नेपाली कांग्रेसले आजपर्यन्त शान्ति र संविधानको अगुवा भनेर आफैलाई दाबी गर्दै आएको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरू भएको शान्ति र संविधानको यात्रा सुशिल कोइरालाको कार्यकालमा आएर पूरा भएको इतिहास अमिट छ ।
शान्ति प्रकृयाका नायक नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र संविधानका पिता सुशिल कोइरालाको इतिहासमेटेर आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री देउवाले संविधानसभा र संविधान निर्माणको एकलौटी जस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनुले कांग्रेसको इतिहासमा ठेस लागेको छ । यो अभिव्यक्ति बाट कि उनले इतिहास भुले की त प्रचण्डलाई खुसी पार्ने नाउमा आफ्नै धोति खुस्कीएको देखेनन् भन्न सहजै सकिन्छ ।देउवाले प्रचण्डकै बलमा कांग्रेसले संविधानसभा स्वीकार गरेको मात्रै बताएनन् संविधान निर्माणमा सबैभन्दा बढी योगदान प्रचण्डकै रहेको उल्लेख गरे ।
देउवाको अभिव्यक्तिले ‘शान्ति र संविधान’ को एजेण्डामा अपनत्व दाबी गर्ने कांग्रेसजनलाई निराश बनाएको छ ।
‘संविधानसभाको पहिलो एजेण्डा कांग्रेसले नै उठाएको थियो । राजनीतिक परिस्थिति बदलीदै जाँदा माओवादीले त्यसलाई आफ्नो एजेण्डा बनाए पनि गिरिजाप्रसादले स्वीकारेपछि मात्रै संविधानसभा सफल भएको कुरालाई कसैले प्रश्न उठाउन सक्दैन ।
त्यसबेला देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर धिमा गतिमा भएपनि ‘प्रतिगमनविरुद्धको आन्दोलन’ मा जोडिन पुगेका थिए । वीपी कोइरालाले देखेको संविधानसभाको सपनालाई गिरिजाप्रसादले सम्भव तुल्याएको कुरालाई आम नागरिक माझ लैजानुपर्नेमा अन्य दल र नेतालाई जस दिनु कांग्रेस नेतृत्वको दुरदर्शीमा माथिको प्रश्न हो । गिरिजाप्रसादकै अगुवाइमा भएको १२ बुँदे समझदारी र लोकतान्त्रिक आन्दोलनको जगमा संविधानसभाको एजेण्डा कार्यान्वयन भएको थियो सत्यलाई बङ्याउनु भनेको आफै नाङ्गीनु हो ।
पहिलोसंविधानसभाबाट संविधान बनेको हेर्ने गिरिजाप्रसादको चाहना पूरा भएन । समयमै संविधान जारी हुन नक्नुको कारण माओवादीसंग सम्बन्धीत विविध मुद्धालाई व्यवस्थापन गर्न नसक्नु, सत्ता सञ्चालनको अभ्यास नहुनु हो भनेर किन भन्न नसक्ने ? जुन समय भण्डै दुइतिहाइ सिट पाएको माओवादीकै सरकार थियो । संविधान सभाको दोस्रो निर्वाचन गराएर सुशिल कोइरालाको नेतृत्वमा संविधान बनेको हो यसमा माओवादीको, एमाले लगायत सबै पार्टीहरुको भूमिका रहेको कुरा सत्य हो ।
पहिलो संविधानसभामा बनेका ४ वटा वाम सरकारले संविधान दिन नसकेको पृष्ठ भूमीमा सुशिल कोइराला नेतृत्वको सरकारले दोस्रो संविधानसभाको २ वर्षे कार्यकालभित्र संविधान बनाएको थियो । यसर्थ कांग्रेसजनले श्रद्धापूर्वक सुशिल कोइरालालाई ‘संविधानको पिता’ भन्दै आएका छन् ।
तर कांग्रेसकै सभापतिले यसको जस प्रचण्डलाई दिनु पार्टी र इतिहासमाथिको अन्याय हो ।
आफ्नै इतिहास मारेर प्रचण्डलाई खुसी बनाई एमसीसी पास गराउने देउवाको रणनिती पनि हुन सक्छ । तर एमसीसी राष्ट्रहितमा आएको परियोजना हो भने वर्तमान गठबन्धनमा रहेका दलहरुले संसदबाट खुरुखुरु पास गरेर जनतामाझ सकारात्मक सन्देश लिएर गए हुन्न र ? नेताहरुको अमुक स्वार्थमा इतिहास मेटाउने कुराले हामी कहा पुग्छौं ?गठबन्धन कहिले सम्म रहन्छ अथवा कांग्रेसले कहिलेसम्म सरकार चलाउन पाउछ भन्ने भन्दा पनि पूर्खाले रचेको इतिहास कायम रहनुपर्छ भन्ने आम लोकतन्त्रवादी नागरिक र कांग्रेसजनहरुको आशय हो ।
माओवादी मञ्चमा देउवाको अभिव्यक्तिले वीपी, जीपी र सुशिलको इतिहास र योगदानमाथि नै प्रश्न उठाएको छ । ‘प्रचण्डको प्रशंसा गर्ने नाममा आफ्नै इतिहासमाथि प्रहार गरेको उनिमाथि आरोप लागेको छ । माओवादी मञ्चबाट प्रचण्डको प्रशंसा गरेका देउवालाई प्रचण्डले तत्कालै ‘इनोसेन्ट’ देख्नु दुवै नेताले मञ्चको नियोजित प्रयोग हो । त्यसकारण प्रधनानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति देउवाले कि त शान्ति र संविधानको एजेण्डा कांग्रेसको थिएन भन्ने पुष्टि गर्नुपर्छ नत्र इतिहासलाइ जिवन्त राख्नका लागिआफ्ना अभिव्यक्ति सच्याएर आम कार्यकर्ता सामु माफी माग्नु पर्छ ।
लेखक नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष हुन् ।
