किन हराउँदै छ थारु (मातृ) भाषा ?

किन हराउँदै छ थारु (मातृ) भाषा ?


  • 7.9K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 12.1K Views

    किन हराउँदै छ थारु (मातृ) भाषा ?

    अञ्जना चौधरी, दाङ-४ मंसिर/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की १५ वर्षीया सृष्टि चौधरी आफ्नो मातृभाषा बोल्न जान्दिनन् । अभिभावकहरुले थारु भाषामा बोलेको बुझेपनि उनलाई फर्काउन भने आउँदैन । उनका बुवा आमा, हजुरबुवा हजुरआमाले थारु भाषामा कुरा गर्न खोजेपनि सृष्टिले नेपालीमै जवाफ फर्काउछिन् । बजार क्षेत्रमा बस्ने भएकाले छिमेकीहरु सबै गैर थारु भएको हुँदा छोरीले पनि बाल्यकालदेखि नै नेपाली भाषा बोल्न सिकेको सृष्टिकी आमा शारदा चौधरीले बताइन् । ‘घरमा छोराछोरीहरुसँग हामी नेपाली भाषामै कुरा गर्ने गर्छौं’ शारदाले भनिन् ‘सानैदेखि गैर थारुहरुको बसोबास रहेको क्षेत्रमा बस्ने भएकाले पनि आफ्ना सन्तानहरुलाई थारु भाषा सिकाउन तर्फ जोडबल गरेनौं ।’

    images

    पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रमा बसोबास गर्ने थारु समुदायका अभिभावकहरुले आफ्ना सन्तानहरुलाई थारु मातृभाषा भन्दा पनि नेपाली भाषामा बोल्न सिकाउने गरेको पाइन्छ । शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुरका प्रकाश चौधरीले पनि आफ्ना छोराहरुलाई नेपाली भाषानै बोल्न सिकाएका छन् । प्रकाशका जेठाछोरा तेजन चौधरी फाट्ट फुट्ट रुपमा थारु भाषा बोले पनि कान्छा छोरा मेघराज भने नेपाली भाषा बोल्ने र बुझ्ने गर्दछन् । खासगरी विद्यालयहरुमा नेपाली भाषा मात्रै पढाइ हुने र नेपाली भाषानै बोलिने भएकाले छोराहरुलाई बुझ्न सहज होस् भनेर नेपाली भाषा बोल्न सिकाएको चौधरीले बताए । ‘विद्यालयमा थारु भाषा बोल्ने, थारु भाषाको पढाइ हुने भए, हामी छोराहरुलाई थारु भाषानै बोल्न सिकाउने थियौं ।’ चौधरीले भने– ‘घरमा थारु भाषा सिकाएर विद्यालयमा नेपाली भाषाबाट बोल्न, पढ्न र बुझ्न समस्या हुने भएको हामीलाई महसुस भएर नेपाली भाषा सिकाउनमा जोड गरेका हौँ ।’ प्रकाश मात्रै नभएर धेरै अभिभावकहरुका अनुसार विद्यालयमा नेपालीबाट मात्रै पढाइ हुने र बोलिने गर्दा आफ्ना सन्तानहरुलाई मातृभाषाभन्दा अन्य भाषा सिकाउमा जोड गरेको बताउँछन् ।

    तुलसीपुर १२ का थारु अगुवा बुझौना थारुले पछिल्लो समय थारु मातृभाषा हराउँदै गएको बताउँछन् । बालबालिका तथा युवा पुस्ताले थारु मातृभाषा बोल्नै छोडेको र वयस्कहरु पनि छोराछोरीहरुसँग नेपाली भाषानै बोल्ने भएकाले पनि थारु समुदायको मातृभाषा हराउँदै गएको उनको भनाइ छ । थारु भाषा बोल्ने व्यक्ति पनि शुद्ध थारु भाषा बोल्न छोडेको उनको भनाइ छ । थारु मातृभाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गर्ने बुझौना आफु पनि नाति नातिनाहरुसँग नेपालीमै कुरा गरेको सुनिन्छ । आफ्ना नाति नातीनाहरु पनि थारु भाषा बोल्न नजान्ने भएकाले नाति नातिनाहरुसँग आफुले पनि नेपालीमा कुरा गर्ने गरेको बुझौनाले बताए । ‘मेरा नाती नातिनाहरु थारु भाषा बुझे पनि बोल्न जान्दैनन्, उनीहरुसँग मैले पनि नेपालीमा कुरा गर्छु बुझौनाले भने ।’ तर आफुले नाति नातिनाहरुलाई थारु मातृ भाषा बोल्नु पर्छ भनेर सिकाउन तर्फ ध्यान नदिएको उनले स्वीकार गर्छन् ।

    संस्कृतिविद् अशोक थारुले थारु मातृभाषा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्छन् । थारु मातृभाषा हराउँदै जानुमा राज्य पक्षसँगै सबैभन्दा बढी कमजोरी थारु मातृभाषीहरुको रहेको उनको भनाइ छ । ‘राज्य पक्षले राष्ट्रिय भाषालाई अनिवार्य भाषाकारुपमा पठन पाठनको प्रयोग गर्ने नीति ल्यायो त्यो अनिवार्य शिक्षा भयो, त्यसकारण हाम्रा छोराछोरीहरु अनिवार्य नीतिले गर्दा उनीहरु नेपाली सिक्ने भए त्यो नराम्रो पक्षा होइन् तर मातृभाषा विकासको लागि वैकल्पिक शिक्षाकोरुपमा समुदायले चाहेमा आफ्नो मातृभाषा पढ्न पाउने भन्ने नीति आएको छ ।’ संस्कृतिविद् थारुले भने– ‘कतिपय विद्यालयमा थारु मातृभाषा पढाइ सुरु गर्दा विद्यालयका प्रशासक थारुनै भएको विद्यालयमा पनि थारु मातृभाषा लागू गर्न चाहेनन् यो सबै भन्दा कमजोर पक्ष हो ।’

    थारु समुदायका अध्यक्षहरु विद्यालयमा थारु भाषाको पढाइका लागि जिल्ला शिक्षा कार्यालयमा जाँदा समेत उहाँहरुको मागलाई बेवास्ता गरि प्रतिकूल जवाफ दिने गरेको थारुले बताए । राज्य पक्ष र थारु पक्षको वैचारिक द्वन्द्वले पनि थारु मातृभाषा पछाडि परेको उनले बताए । अर्कोतर्फ स्वयम् समुदायमा अहिले पढे लेखेको शिक्षित परिवारदेखि सामान्य पढेको परिवारमा पनि आमाबुवाले आफ्ना साना छोराछोरीहरुसँग नेपाली भाषामा कुरा गर्ने लहर चलेको बताए । जस्ले गर्दा थारु समुदायका पछिल्लो पुस्ताका केटाकेटीहरु नेपालीमा कुरा गर्ने र आफ्नो मातृभाषा बोल्दा कसैले सुन्छ की भनेर डराइ डराइ बोल्ने गरेको उनको भनाइ छ । ‘मैले यात्राको क्रममा धेरै पटक देखेको छु थारु समुदायका केटाकेटीहरु नेपालीमै कुरा गर्छन, थारु भाषामा कुरा गरेपनि कसैले सुन्छ, देख्छ की भनेर सानो स्वरमा बोल्छ ।’ संस्कृतिविद् थारुले भने – ‘थारु भाषा बोलेको कसैले थाहा पाएमा हामी हेपिन्छौ की भन्ने उनीहरुको सोच छ, यो थारु मात्रै नभएर सबै मातृभाषीहरुको समस्या हो ।’ उनले भने – ‘अहिलेको अवस्थामा राज्यले हाम्रो शिक्षा नीतिमै समुदायले चाहेमा मातृभाषामा पढ्न पाउने अधिकार दिएको छ, तर दाङ लगायत थारुहरुको बसोबास रहेको २२ जिल्लामा थारु भाषामा पढाइ हुन नसक्नु थारु समुदायकै समस्या हो । ’

    कुनै विद्यालयमा थारु भाषा पढाए पनि मातृभाषा पढाउने शिक्षकहरुले छुट्टै तलब माग्ने अवस्था भएकाले पनि मातृभाषाको विकास हुन नसकेको उनको भनाइ छ । तर थारु मातृभाषा संरक्षण थारु समुदायकै अहम् भूमिका रहेको उनले बताए । ‘हाम्रो थारु संस्कृतिको ५ वटा डोमेन छ, मौखिक परम्परासहितको भाषा संरक्षण गर्नुपर्छ भन्छ तर नयाँ पुस्तामा थारु भाषामा हुँदै नभएको व्यञ्जनहरु, भोवेलहरु बोल्ने र लेख्ने डढेलो लागेका कारण यस्तो प्रकारको समस्याले हामीलाई घरको न घाटाको बनाइराखेको छ’ उनले भने ।

    विद्यालयमा थारु भाषा पढ्नको लागि विद्यार्थी, अभिभावकहरुले चासो दिएमा पाठ्क्रम बनाउने, पाठ्यपुस्तकमा थारु विषय वस्तु समावेश तयार रहेको शिक्षा शाखा तुलसीपुरका प्रमुख चक्र भण्डारीले बताए । तर अहिलेसम्म तुलसीपुर १५ मा रहेको एउटा विद्यालयबाट मात्रै थारु भाषा बढाउनको लागि माग भएको उनले बताए । ‘यो वर्ष मात्रै तुलसीपुर १५ को एउटा विद्यालयबाट थारु भाषा पढाउनको लागि माग भएको छ, उनले भने –आधिकारिक रुपमा सहमति गरेर आउनुस् हामी अन्य सहयोग गर्छौ भनेका छौँ ।’

    तुलसीपुरकै मावि हरीपौरीमा ८० प्रतिशत विद्यार्थी थारु समुदायका छन् तर उक्त विद्यालयमा थारु भाषाको पढाइ हुन सकेको छैन् । स्थानीय विषय ‘हाम्रो तुलसीपुर’ मा समग्र नगरको कुरासहित थारु गीत, थारुहरुको मौलिक संस्कृतिका कुरा मात्र समावेश भएको तर त्यसको व्याख्या नेपाली भाषामा रहेको छ र यहीँ विषय विद्यालयमा पढाउँदै आएको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले बताइन् । उपमहानगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा थारु भाषाको पाठ्यक्रम लागू गरे पढाउन सकिन्छ तर एउटै विद्यालयले मात्र लागू गर्न सम्भव छैन । प्रअ चौधरीले भनिन्– ‘पालिका भित्रका सबै विद्यालयहरुमा थारु मातृभाषा पाठ्यक्रम भयो भने प्रभावकारिता र सिकाइ उपलब्धिको मूल्याङ्कन गर्न सहज हुन्छ तर एउटै विद्यालयमा मात्र लागू गर्दा त्यसको प्रभावकारिता र सिकाइ उपलब्धिको मूल्याङकन गर्ने व्यवस्था नहुने भएकाले थारु मातृभाषा पढाउन सकेका छैनौं ।’ थारु मातृभाषाको विषय विज्ञ, पाठ्यक्रम बन्छ तर त्यसको मूल्याङ्कन गर्न असहज हुने भएकाले लागू हुन नसकेको चौधरीले बताइन् ।
    दाङमा थारुसमुदायको बढी बसोबास भएको क्षेत्रको विद्यालय तथा थारु समुदायको प्रअ भएको विद्यालयमा समेत थारुमातृभाषाको पढाइ हुन सकेको छैन् । थारु मातृभाषा पढाइ हुने कुनै–कुनै विद्यालयमा पनि थारु मातृभाषा निरन्तरता पाउन नसकेको अवस्था छ ।

    शंकर माध्यामिक विद्यालय देउखुरीमा २०६० सालदेखि थारु भाषाको पढाइ हुँदै आएकोमा विगत २ वर्षदेखि त्यसलाई नेपालीमा अनुवाद गरेर पढाउन थालिएको प्रधानाध्यापक सुवर्णमान चौधरीले जानकारी दिए । उक्त विद्यालयमा थारु भाषा बोल्ने ९० प्रतिशत विद्यार्थीहरुले अध्ययन गर्छन् । शिक्षा ऐनमा पनि ६० प्रतिशत विद्यार्थी एउटै भाषाको बोल्ने बाहुल्यता भएको खण्डमा उस्कै भाषामा पढाइ हुने भनिएको छ । तर विद्यालयमा अन्य समुदायको विद्यार्थीहरु पनि अध्ययन गर्ने भएकाले त्यसलाई एकरुपता गराउन पालिका, वडा कार्यालयको समन्वयमा २ वर्षदेखि थारु भाषाको पढाइ नेपालीमा पनि अनुवाद गरेर पढाउँदै आएको प्रअ चौधरीको भनाइ छ । दाङकै घोराही उपमहानगरपालिकाले पनि एउटा विद्यालयमा थारु मातृभाषामा पठनपाठन सुरु गरेको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवामा रहेको श्री रात्री प्राथमिक विद्यालयमा (हमार थारु भाषा) किताब पढाइन्छ ।


    तेस्रो आँखा