• ट्रेण्डिङ्ग :
भूकम्प प्रभावित क्षेत्रमा एमालेको ११ सय स्वयंसेवक परिचालित

भूकम्प प्रभावित क्षेत्रमा एमालेको ११ सय स्वयंसेवक परिचालित


  • 3.3K
    SHARES
    • मंसिर ५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    भूकम्प प्रभावित क्षेत्रमा एमालेको ११ सय स्वयंसेवक परिचालित

    जाजरकोट । नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा एक हजार एकसय जना स्वयंसेवक परिचालित गरेको जनाएको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउन जमिन सम्याउनेजस्ता काम गरिरहेको एमालेले जनाएको छ ।  

    images

    कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट  एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका हुन् । त्यसमध्ये जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन भएको पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । 

    नेकपा (एमाले) का जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काममा जुटेको नेता आचार्यले बताउनुभयो ।  

    जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मङ्सिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्न खटिइरहेको छ । केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरूलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार भेरी नगरपालिका –३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा काम भइरहेको छ ।

    त्यसैगरी पीपलडाँडा क्षेत्रमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुको समूह परिचालन भएकोे छ । पार्टीका केन्द्रीय सदस्य तथा विपद व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्य लगायतको समूहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवाल नेतृत्वको प्रदेश कमिटीको समूहले पनि रिम्नामै काम गरिहेको छ । 

    भेरी नगरपालिका –१ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका –१ को चिउरी, पालि, कल्पत वडा ३ को कट्के, करुवा, चाउलेचौर, टट्टा वडा  ५ को ऐरारी, चारगाउँ वडा ६ को थाप्ला, चारगाउँ वडा ७ को चामखेत लगायत क्षेत्रमा विभिन्न समूह खटिएको सो दलले जनाएको छ । त्यसैगरी इपिसेन्टरको रूपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरी लगायतका ठाउँमा छुट्टाछुट्टै समूह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको पार्टी केन्द्रीय सदस्य किरण पौडेलले बताउनुभयो । 

    उहाँका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलिसम्ममा स्वयंसेवक पुग्नेछन् । नेकपा (एमाले) का स्वयम्सेवकहरूले पाँच हजार कार्यदिनमा एक करोडभन्दा बढी मूल्यको श्रम गर्नेछन् । हजारौं घरटहराहरू बनाएर भूकम्पको पीडामा रहेका नागरिकहरूलाई न्यानो बसाइँको व्यवस्था गरेर मात्र आफूहरू घर फर्किने केन्द्रीय सदस्य पौडेलले बताउनुभयो । 

    नेकपा (एमाले) को गत कात्तिक २२ गते बसेको २५ औँ सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउन र अस्थायी घरटहरा बनाउन श्रमदान गर्ने निर्णय गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्पमा पनि नेकपा (एमाले) ले स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।


    तेस्रो आँखा