जाजरकोट, २४ मंसिर । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घरहरु भत्किएसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिक रूपमा विपन्न परिवार त्रिपालकै सहारामा खुला आकाश मुनि बस्न बाध्य छन् ।
राज्यले भूकम्प पीडितलाई आवास निर्माण गर्न रकम निकासा दिइसक्यो, अब अस्थायी टहरा निर्माण मङ्सिरभित्र हुन्छ भनिए पनि पीडित परिवारको खास पीडामा अझै मल्हम लाग्नसकेको छैन । घाइतेका उद्धार तथा उपचारमा जुन गतिमा तीनै तहका सरकार लागेका थिए, सोही गतिमा अस्थायी आवास निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारण समस्या छन् । सङ्घीय सरकारले दिने भनेको रु ५० हजारसमेत दुई किस्तामा निकासा दिने भनेपछि झन् पीडितहरू हैरान भएका छन् । सो रकम लिन आउँदा र जाँदा मात्र धेरै खर्च हुने अवस्था छ ।
गत कात्तिक २६ गते नै स्वीकृत कार्यविधिअनुसार सङ्घीय सरकारले अस्थायी आवास निर्माण गर्नका लागि रु ५० हजार दिने र त्यसका लागि मापदण्ड तोक्दै तत्काल काम गर्न स्थानीय तहलाई भने पनि त्यो मापदण्डअनुसार काम भएको छैन । वडाबाट लागत सङ्कलन गरेको विवरण स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्लाको विपद् व्यवस्थापन समितिसम्म पुग्न तीन वटा भागमा जोडिनुपर्ने बाध्यता छ । कार्यविधिसमेत दुई पटक संशोधन हुँदा दुई पटक तथ्याङ्क सङ्कलनको काम स्थानीय तहले गर्नुपरेको छ । यसका कारण सरकारले दिने भनेको रकम अझै ढिला हुन गएको छ ।
नलगाड नगरपालिका–८ स्वाराकी ३१ वर्षीय विष्णु खत्रीको घर भूकम्पले चिराचिरा बनाएपछि खुला आकाशमा राखिएको त्रिपालमा बस्दै आएकी छिन् । उनका श्रीमानको दुई महिना अगाडि मात्रै शल्यक्रिया गरेका कारण चिसोले समस्या भएको छ । शल्यक्रिया गरेको उनको घाउ चिसोले गर्दा दुख्नेलगायत अन्य समस्या पनि देखा पर्न थालेको छ । उनीले भनिन्, ‘जब साँझ पर्न थाल्छ, शीतको थोपाले त्रिपाल भिजिहाल्छ । अनि चिसो सिधै भित्र आउँछ ।’ यहाँको मुख्य बस्ती हल्चौरमा करिब चार सय ५० घरधुरी छन् । ठूलो बस्ती छ । परम्परागत तरिकाले निर्माण गरिएका घर ढुङ्गा, माटोले बनेका छन् ।
त्यस्तै नलगाड–१ कल्पतकै रविना नेपालीको घर भत्किएर अहिले खुला आकाशमा त्रिपालकै सहारामा बस्दै आएकी छिन् । आर्थिक अवस्था कमजोर भएका कारण आफैँ तत्काल जस्तापाता किन्ने अवस्था छैन भने अर्को उधारो पाइने नजिक बजार पनि छैन ।
रुकुम पश्चिम र जाजरकोटमा मात्रै ६० हजारभन्दा बढी अस्थायी आवास आवश्यक पर्छ । तर अहिलेसम्म २० प्रतिशत पनि निर्माण हुन नसकेको सरोकारवाला बताउँछन् । यहाँ विभिन्न ठूला तथा साना राजनीतिक दलले पनि आवास निर्माणमा सहयोग गरिरहेको देखिन्छ । यद्यपि दलहरूले बनाएका अस्थायी आवासको वास्तविक तथ्याङ्क न राजनीतिक दलसँग नै छ, न सरकारी निकायसँग ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ को छेपारे सबैभन्दा बढी भूकम्पबाट प्रभावित बस्ती हो, यहाँ अहिलेसम्म नागरिक त्रिपालमै छन् । स्थानीय राधिका नेपाली भन्छिन्, ‘घरहरू पन्छाउने काम भएको छ, आवास कहिले निर्माण हुने हो कुनै पत्तो छैन । चिसोले मरिने हो कि भन्ने चिन्ता बढ्न थाल्यो ।’
भूकम्पबाट धेरै प्रभावित नलगाड नगरपालिकामा तथ्याङ्क सङ्कलनको काम जारी छ । केही ठाउँमा सम्झौताका कामसमेत भइरहेको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । आफ्नो पालिकामा कसले कत्ति घर बनाए भन्ने कुनै तथ्याङ्क नभएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक गरेको जानकारीअनुसार हालसम्म शिवालय, छेडागाड, बारेकोटमा रकम पठाएको छ भने नलगाड आधा र भेरीमा पूरै रकम पठाउन दुई दिनसम्म लाग्ने जनाइएको छ । राहत वितरण कार्यसमेत सबैले आफूखुसी गरिरहेको देखिन्छ । कहाँ, कति आवश्यक हो भन्ने कुराको कुनै आधिकारिक तथ्याङ्क छैन ।
यहाँका विद्यालयमा टेन्ट निर्माण गरी अस्थायी रूपमा कक्षा सञ्चालनको काम हुँदै आएको छ । सुत्केरीदेखि बालबालिका हुँदै घरका सबै एकै ठाउँमा सुत्दा दैनिक जनजीवन कष्टकर हुँदै गएको छ । विभिन्न सङ्घसंस्थाले विद्यालयका अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएअनुसार काम गरिरहेका छन् । अस्थायी रूपमा निर्माण गरिएका विद्यालयमा अझै पूरै विद्यार्थी आउने सम्भावना कम छ ।
