काठमाडौँ , २७ मंसिर / त्रिभुवन विश्वविद्यालय यतिबेला निमित्त उपकुलपतिको भरमा चलिरहेको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल गत कात्तिक १७ गते सकिए पनि अझै उपकुलपति नियुक्त हुन सकेको छैन ।
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गते शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ ख बमोजिम रिक्त रहेको उपकुलपतिको पद पूर्ति नभएसम्मका लागि दैनिक कार्य सञ्चालन गर्नका लागि बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी तोक्न सकिने व्यवस्था छ । सोही आधारमा कुलपति प्रचण्डले भुसाललाई उपकुलपति नियुक्त गरेका थिए ।
नयाँ उपकुलपति खोज्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । कात्तिक २० गते उपकुलपति छनोट समिति गठन गरिए पनि हालसम्म बैठक नै बस्न सकेको छैन ।
समितिमा शिक्षासचिव सुरेश अधिकारी र त्रिवि बौद्ध अध्ययन विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य छन् । समिति सदस्य तथा शिक्षासचिव सुरेश अधिकारीले मन्त्रीको व्यस्तताका कारण बैठक बस्न नसकेको बताए ।
‘मन्त्रीज्यू व्यस्त हुनुहुन्छ । समय मिलाएर बैठक बस्ने कुरा भइरहेको छ । बैठक बसेपछि सिफारिसका लागि एक कार्यविधि बनाउँछौँ । अनि त्यही आधारमा खुला आह्वान गरिन्छ । परेका आवेदनहरूबाट नै छनौट गरेर सिफारिस पठाइन्छ,’ सचिव अधिकारीले भने ।
